एनआरएनए अमेरिकाको स्पष्टोक्ति- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं २५ पुस। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको बताएको छ ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको समाचार सार्वजनिक भएपछि परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गरेर अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेका हुन् ।

‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं,’ उनले भनेका छन्, ‘साथै, परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।’

प्रवक्ता उप्रेतीले परिषद् कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम र कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको पनि स्पष्ट पारेका छन् ।

‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन (फन्डराइजिङ) या गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिने छन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता उप्रेतीले परिषद्को नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति र समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने पनि विज्ञिप्तमा उल्लेख गरेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version