काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १५७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ७४ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अवको दुई घण्टापछि सबै निर्वाचन परिणाम सार्वजनिक हुनेछ । गणनाअनुसार अपडेट नियमित सार्वजनिक गरिने उहाँको भनाइ छ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नुभएको थियो । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनुभएको निर्वाचन आयोगका पदाधिकारीहरुको भनाइ छ ।



