काठमाडौँ, असोज २८ गते । एएफसी एसियन कप छनोटको तेस्रो चरणको चौथो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।
भियतनामको थोङ नाट स्टेडियममा साँझ ६:१५ बजे सुरु हुने यस खेल नेपालका लागि ‘होम म्याच’ हो । यसअघि बिहीबार खेलिएको पहिलो लेगमा नेपाल भियतनामसँग ३–१ गोलले पराजित भएको थियो ।
भियतनामविरुद्ध आजको दोस्रो लेग नेपालमै हुनुपर्ने थियो । तर काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो खेल पनि भियतनामकै मैदानमा खेल्न लागेको हो ।
छनोटको समूह ‘एफ’ मा रहेको नेपालले यसअघिका तीन खेलमा लगातार हार खेपेको छ । यस खेलमा नेपालका रक्षक रोहित चन्दले नेपालका लागि अन्तर्राष्ट्रिय एक सयौँ खेल पूरा गर्नुहुनेछ ।
यस्तो उपलब्धि हात पार्ने रोहित दोस्रो खेलाडी हुनुहुन्छ । यसअघि सय खेलको कोशेढुङ्गा पार गर्ने कप्तान एवं गोलरक्षक किरणकुमार लिम्बू हुनुहुन्छ ।
यस्तै आजको खेल नेपालका स्ट्राइकर अन्जन विष्टका लागि पनि महत्वपूर्ण छ । यस खेलमा गोल गर्न सके उहाँले नेपालका लागि सर्वाधिक १४ गोलको कीर्तिमान रच्नुहुनेछ । यसअघि अन्जनले हरि खड्का र निराजन रायमाझीको समान १३ गोलको कीर्तिमान बराबरी गर्नुभएको छ ।
नेपालका प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध आजको खेल प्रतिस्पर्धात्मक हुने बताउनुभएको छ । खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक म्याटले पहिलो खेल गुमे पनि नेपालले मङ्गलबार तीन अङ्कका लागि खेल्ने बताउनुभयो ।
यसअघि समूहमा नेपालले लाओससँग २–१ र मलेसियासँग २–० गोलको हार खेपिसकेको छ । लगातार तेस्रो हारसँगै नेपाल अङ्क तालिकाको अन्तिममा छ ।
भियतनाम तीन खेलबाट ६ अङ्क जोड्दै दोस्रो स्थानमा छ । मलेसिया नौ अङ्कसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लाओसको तीन अङ्क छ । समूहको शीर्ष टोली सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुनेछ ।