काठमाडौं २४ भाद्र। काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ः ३० बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा कफ्र्यू आदेश जारी गरिएको हो ।
कफ्र्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।
सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यू भएपछि थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन भन्दै कफ्र्यू आदेश जारी गरिएको हो ।
ललितपुर । जेनजी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कफ्र्यु आदेश जारी गरेको छ । आज (मंगलबार)बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि ललितपुरका विभिन्न स्थानमा कफ्र्यु लगाइएको हो ।
ललितपुर महानगरपालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
त्यस्तै वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कफ्र्यु आदेश लागु हुने छ ।