किशोरीलाई देशभर पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोप 

काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान आइतबारदेखि देशभर सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार यो अभियान माघ २५ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।

अभियानअन्तर्गत देशभरका कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइने छ। यस्तै, गत वर्षको अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र ११ देखि १४ वर्ष उमेरका विद्यालय बाहिर रहेका किशोरीलाई पनि यही अभियानमार्फत खोप दिइने शाखाले जनाएको छ। हिमाली तथा हिउँ पर्ने जिल्लामा भने अभियान चैत महिनामा सञ्चालन गरिनेछ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण भएकाले त्यसको रोकथामका लागि एचपिभी खोप अत्यावश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। कक्षा ६ मा अध्ययनरत किशोरीलाई विद्यालयमै र अन्य लक्षित किशोरीलाई नजिकको खोप केन्द्रमा खोप दिइने व्यवस्था गरिएको छ। प्रमुख डा. गौतमले एचपिभी खोप शतप्रतिशत प्रभावकारी रहेकाले लक्षित सबै किशोरीलाई खोप लगाउन आग्रह गरे।

नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र तीमध्ये चार जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ। तर एचपिभी खोपमार्फत यो क्यान्सर रोक्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत वर्ष सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपिभी खोप लगाएको थियो। यस वर्षको २० दिने अभियानमा करिब तीन लाख ५० हजार किशोरीलाई खोप लगाइने शाखाले जनाएको छ।

नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा पर्छ भने क्यान्सरका कारण महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version