क्रान्तिकारी कम्युनिष्ट पार्टीले भन्यो– कुलिङ पिरियडको गडबडी ‘भ्रष्टाचारलाई मलजल गर्ने कदम’

काठमाडौं २० साउन। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको गडबडीलाई ‘भ्रष्टाचारलाई मलजल गर्ने कदम’ भनेर विरोध गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको साउन १२ देखि १९ गतेसम्म बसेको स्थायी कमिटी बैठकले सो निष्कर्ष निकालेको हो । कार्यबाहक महासचिव चन्द्रप्रकाश गजुरेल (गौरव)को अध्यक्षतामा बसेको बैठकपछि मंगलबार बिहान जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘प्रतिनिधि सभाबाट पारित भएको कुलिङ पिरियड सम्बन्धी कानुनलाई राष्ट्रिय सभाबाट उल्ट्याउन गरिएको षडयन्त्र सरकारको भ्रष्टाचारलाई मलजल गर्ने एउटा कदम हो । हाम्रो पार्टी यसको घोर विरोध गर्दछ ।’

कुनै राष्ट्रसेवक कर्मचारीले अवकाश पाएको वा राजीनामा दिएको दुई वर्षसम्म राजनीतिक नियुक्ति नपाउने व्यवस्था (कुलिङ पिरियड)को व्यवस्थासहित राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधि सभाबाट पास भइसके पनि राष्ट्रिय सभामा एमाले सांसदहरुले संशोधन हालेका छन् । त्यसैप्रति इङ्गित गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भ्रष्टाचारलाई मलजल गर्ने कदम भनेर टिप्पणी गरेको हो ।

संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश वा राजीनामा पछि अर्को नियुक्ति लिन नपाउने अवधि (कुलिङ पिरियड) दुई वर्ष राख्ने सर्वसम्मत सहमति राज्य व्यवस्था समितिमा भएको थियो । यो सहमति अनुसारको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदा कुलिङ पिरियडको व्यवस्था निष्कृय हुने भाषासमेत प्रयोग गरिएको भनेर प्रश्न उठेको थियो । त्यसमा भएको गडबडी छानबिन गर्न २३ असारमा गठित संसदीय समितिले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुरासमेतका कर्मचारीलाई नैतिक जिम्मेवार ठहर गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version