काठमाडौं, साउन २३ गते । इजरायलले गाजा शहर कब्जा गर्ने निर्णय गरेको छ । शुक्रबार बिहानसम्म चलेको सुरक्षा मन्त्रिपरिषदको बैठकले गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको हो ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासलाई पराजित गर्न भन्दै गाजा शहर कब्जा गर्ने प्रस्ताव राखेका थिए । सुरक्षा मन्त्रिपरिषद्ले उक्त प्रस्ताव अनुमोदन गरेको बीबीसीले जनाएको छ ।
समाचारअनुसार अब इजरायल रक्षा बल (आईडीएफ)ले युद्ध क्षेत्र बाहिरका नागरिक जनसंख्यालाई मानवीय सहायताको प्रावधान सुनिश्चित गर्दै गाजा शहर कब्जाको लागि तयारी गर्नेछ ।
नेतान्याहूले सम्पूर्ण क्षेत्रमाथि पुनः नियन्त्रण लिने र अन्ततः हमासको विरोधी मित्रवत अरब सेनालाई हस्तान्तरण गर्ने योजना बनाएको घोषणा गरेका थिए । त्यसपछि बसेको सुरक्षा मन्त्रिपरिषद्को रातभरको बैठकले उनको योजना अनुमोदन गरेको हो ।
नेतान्याहूले इजरायलको सुरक्षा सुनिश्चित गर्न हमासलाई गाजाबाट हटाउन चाहेको बताएका छन् । उनले फक्स न्यूजलाई भनेका छन्, ‘हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौं ।’