काठमाडौं , भदौ ७ गते। नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले २०६३ को गौर हत्याकाण्डलाई राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर सामूहिक हत्या गर्न नहुने बताए ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त घटनालाई राजनीतिक भनेकोप्रति लक्षित गर्दै गुरुङले निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिनको माग गरेका छन् । उनले तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्व यादवले गरेको र मानव अधिकार आयोगको प्रतिवेदनले पनि उनलाई लक्षित गरेको उल्लेख गरे ।
सर्वोच्च अदालतको हालैको परमादेशप्रति समय सन्दर्भले आशङ्का उत्पन्न गरेको उनको भनाइ छ । जसपा नेपालको भूमि विधेयकप्रतिको असन्तुष्टि र सरकारबाट बाहिरिनुले पनि यो फैसला राजनीतिक प्रतिशोधसँग जोडिएको हुन सक्ने आशङ्का गुरुङलको रहेको छ । माओवादीले अदालतको फैसला स्वीकार गर्ने, तर न्यायिक निकायले निष्पक्ष र स्वतन्त्र ढङ्गले काम गर्नुपर्नेमा जोड दिएको छ ।