विषय प्रवेश
कम्युनिस्टहरू मार्क्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पार्टीको पथप्रदर्शक सिद्धान्त मान्दछन्। यो मार्गदर्शक सिद्धान्तले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सिकाउँछ। मार्गनिर्देशक मान्ने र त्यसलाई लागू गर्ने कुरामा फरक पर्यो भने त्यो मालेमावादी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नभएर यान्त्रिक तथा अधिभूतवादी आदर्शवाद हुन्छ।
मार्गदर्शक सिद्धान्तअनुसार ठोस परिस्थितिको ठोस विश्लेषण भएन भने ठोस योजना नबन्दो रहेछ र क्रान्तिका लागि आएको अवसर पनि गुम्दो रहेछ। त्यसकारण मार्क्सले मार्क्सवादी सिद्धान्तको विकास मात्र गर्नुभएन, बरु विकसित सिद्धान्त लागू गर्न पनि ज्यान फालेर लाग्नुभयो। सन् १८४८–१८५० को फ्रान्सेली वर्गसंघर्षमा उहाँले निकै जोडले भाग लिनुभयो। तर त्यो असफल भयो। यो घटनाको समीक्षा गरेर उहाँले दुई पुस्तक लेख्नुभयो– एक, ‘फ्रान्समा वर्गसंघर्षः १८४८–१८५०’, दुई, ‘लुई बोनापार्टको अठारौँ ब्रुमेर’। त्यसरी नै १८७१ को पेरिस विद्रोह सफल पार्न उहाँले निकै परिश्रम गर्नुभयो र त्यो विद्रोह सफल पनि भयो। तर त्यो ७२ दिनभन्दा बढी टिक्न सकेन। यसलाई उहाँले ‘फ्रान्समा गृहयुद्ध’ लेखेर समीक्षा गर्नुभयो। त्यसरी नै लेनिनले रुसको देश, काल र परिस्थितिमा मार्क्सवादको प्रयोग र विकास गर्ने निकै ठूलो प्रयत्न गर्नुभयो। १९०५ को विद्रोह असफल भयो। रुस र विश्वको परिस्थितिलाई पछ्याउँदै जाँदा पहिलो विश्वयुद्ध चलिरहेको बेला १९१७ को अक्टोबरमा त्यो कडी भेटियो। लेनिन र स्टालिनको नेतृत्वमा विश्वमा पहिलो वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भयो। त्यो विश्वसर्वहारावर्गको सदरमुकाम बन्यो। चीनमा माओले ४ मई, १९१९ को युवा विद्रोहमा भाग लिनुभयो। १९२१ मा चीन कम्युनिस्ट पार्टीको स्थापना भयो। १९२४ देखि उहाँले चिनियाँ क्रान्तिको पहलकदमी गर्नुभयो। चिनियाँ परिस्थितिको ठोस विश्लेषण गर्दै १ अक्टोबर १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र माओकै भाषामा ‘समाजवादतिर संक्रमण भयो’। ल्यु साओची र तेङ साओपिङले ‘चीनमा पिछडिएको अर्थतन्त्र र उन्नत समाजवादी व्यवस्था अन्तरविरोधी’ हुने भएकाले अझै पुँजीवादको विकास गर्नुपर्दछ भन्दै वैज्ञानिक समाजवादी कार्यक्रममा बाधा पुर्याए। १९५६ देखि माओको नेतृत्वमा स्पष्ट रूपले समाजवादी कार्यक्रम गुणात्मक बन्यो। पुरानो विचारधारा, विरासत, संस्कृति, आनीबानी र चालचलन विस्थापन गरी नयाँ विचारधारा, विरासत, संस्कृति, आनीबानी र चालचलन स्थापना गर्न माओकै नेतृत्वमा १९६६ देखि महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो। यो क्रान्तिले विश्वक्रान्तिका लागि नयाँ हतियार प्रदान गर्यो।
नेपालमा कमरेड पुष्पलालको नेतृत्वमा २२ अप्रिल सन् १९४९ अर्थात् १० बैशाख वि.सं. २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरियो। त्यसपछि एकातिर कम्युनिस्ट पार्टीको नेतृत्वमा किसान संघर्ष अघि बढ्न थालेको थियो भने अर्कोतिर नेपाली कांग्रेसले मुक्तिवाहिनी बनाएर सशस्त्र संघर्षसमेत अघि बढाएको थियो।
उक्त संघर्ष अघि बढिरहेकै बेला राजा त्रिभुवन सपरिवार दिल्लीमा शरण लिन पुगे। जहानियाँ राणा शासनका मोहनशम्सेरलाई पनि दिल्ली बोलाइयो। तत्कालीन भारतीय प्रधानमन्त्री नेहरु, त्रिभुवन र मोहनशम्सेरबीच त्रिपक्षीय सम्झौता भइसकेपछि मात्र नेपाली कांग्रेसबाट विपीलाई बोलाएर त्यो सम्झौताको साक्षी बनाइयो। पश्चिम नेपालको एउटा जनबोली साबित भयो– ‘गर्ने–काज्ने पछ्यौंरा, तिमीलगाँडा अघ्यौंरा’। आन्दोलनको अगुवाइ गर्ने नेपाली कांग्रेस पछि पर्यो र जसका विरुद्ध संघर्ष भयो तिनै तिमीलगाँडा मोहनशम्सेर र त्रिभुवन प्रधानमन्त्री र राजा भए। बल्लबल्ल वि.पी. गृहमन्त्री भए। यो दिल्ली सम्झौताको विरोध गर्ने डा. के.आई. सिंहलाई सिंहदरबारभित्र थुनामा राखियो। उनले त्यहाँ रहेका एक हजार दुई सय सुरक्षाकर्मीलाई विश्वस्त बनाएर सिंहदरबार कब्जा गरे। त्यतिबेला कम्युनिस्ट पार्टीले कुनै पहल लिन सकेन। के.आई. सिंह टिक्न नसकेर चीनमा शरण लिन पुगे। वि.सं. २००८ देखि २०१२ सम्म पूर्वी नेपालको तराईमा र सुदूर पश्चिममा भीमदत्त पन्तको नेतृत्वमा धेरै महत्त्वपूर्ण किसान विद्रोहहरू भए, ती किसान विद्रोहहरूलाई हामी कम्युनिस्टहरूले न त क्रान्तिमा बदल्न सक्यौँ, न कुनै गतिलो समीक्षा गरेका छौँ। २०२८ सालमा पूर्वका क्रान्तिकारी युवाहरूले झापा विद्रोह गरे। त्यस विद्रोहका वाहकहरूले निम्नपुँजीवादी रुझान र यान्त्रिक कमजोरी गर्न सक्छन्। त्यस झिल्कोलाई आगोमा विकास गर्नुको साटो ‘उग्रवामपन्थी भड्काव’ भनेर मोहनविक्रमको नेतृत्वमा पानी खन्याइयो। युवा विद्यार्थीहरूले २०३५/३६ सालको आन्दोलन अघि बढाए। त्यसमा शिक्षक र अन्ततः आम जनता सहभागी भएपछि त्यो जनआन्दोलन बन्यो। राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गर्न बाध्य भए। त्यतिबेला सापेक्ष रूपमा नेपाल कम्युनिस्ट पार्टी बलियो नै थियो। त्यसलाई क्रान्तितिर मोड्ने प्रयत्न नै गरिएन। २०४५/४६ मा अर्को शक्तिशाली जनआन्दोलन भयो। हामीले राजतन्त्रका विरुद्ध उठेको विद्रोहलाई राजा, ‘वाम’ र कांग्रेसको चारो बन्न दियौँ। यसबाट थोरै शिक्षा लिएर क्रान्तिकारीहरूबीच एकता गर्दै २०५२ देखि २०६३ सम्म क्रान्तिकारी कम्युनिस्टहरूले पहल लिई महान् जनयुद्ध सञ्चालन गरे। यसमा नेकपा (माओवादी) भित्रैबाट गद्दारी भयो। माओवादीभित्रै घुसेका केही नेताहरूले अन्ततः भारतीय विस्तारवादसँग आत्मसमर्पण गरे।
“साँच्चै भन्ने हो भने मार्क्सवाद कुनै जीवनहीन जडसूत्र नभएकोले, कुनै परिपूर्ण, बनिबनाऊ, अनुलङ्घनीय सिद्धान्त नभएकोले, बरु कार्यमा जीवन्त पथप्रदर्शक भएकोले यो सामाजिक जीवनका अवस्थाहरूमा आश्चर्यजनक ढंगले हुने आकस्मिक परिवर्तनको प्रतिबिम्बनसँग जोडिएको हुन्छ” –लेनिन, मार्क्सवादको विकासका खास विशेषताहरू–१९१०, प्रगति प्रकाशन मास्कोद्वारा १९६८ मा प्रकाशित लेनिन सङ्कलित रचनाहरूको अंग्रेजी संस्करण, ग्रन्थ १७, पृ. ४२।
यसपालि जेनजी विद्रोहले दुई दिनमै संसार हल्लायो। देश तहस–नहस भयो। यसमा हामी कम्युनिस्टहरू पूरै अलमलमा पर्यौँ। साम्राज्यवादी तथा विस्तारवादी, यथास्थितिवादी र प्रतिगामीहरूले यो आन्दोलनलाई उपयोग गरे। अन्ततः जेनजी पुस्ताका युवाहरूको रगतपसिना यथास्थितिवादी जेनएक्सको हातमा आएर अड्किएको छ। अब क्रान्तिकारी नेपाली कम्युनिस्टहरूले नेपाली जनआन्दोलन, जनसंघर्ष र जनयुद्धको इतिहासको गहिरो समीक्षा गरी वर्तमान परिस्थितिको ठोस विश्लेषणसहित क्रान्तिको कार्यदिशालाई पूर्णता दिएर अघि बढ्नुपर्दछ।
२– जेनजीका ऐतिहासिक जराहरू
हंगेरीमा जन्मेका र जर्मनी तथा बेलायतमा काम गरेका समाजशास्त्री कार्ल म्यानहाइमले सन् १९२८ मा ‘पुस्तासम्बन्धी समस्या’ शीर्षकको पुस्तक लेखेपछि पुस्ता वा जेनेरेसनको चर्चा सुरु भएको थियो। लामो अन्तरालमा सोभियत संघ विघटनपछि १९९१ तिर विलियम स्ट्रस र निल होवेले ‘पुस्ताहरू र अमेरिकी भविष्यको इतिहास’ लेखेपछि जेनेरेसन बढी चर्चामा आउन थाल्यो। सन् १९०१–१९२७ भित्र जन्मेर अत्यधिक महामन्दी र अत्यधिक संकट बेहोरेको पुस्तालाई ‘महानतम पुस्ता’ (द ग्रेटेस्ट जेनेरेसन) भनिएको छ। १९२८–१९४५ सम्म जन्मेको पुस्ताले दोस्रो विश्वयुद्ध बेहोर्यो। यसले बढी परम्परागत र कानुनी मान्यतामा रही परिवर्तन खोजेकोले यसलाई मौन पुस्ता (साइलेन्ट जेनेरेसन) भनिएको छ। १९४६–१९६४ भित्र र दोस्रो विश्वयुद्धपछि जन्मेको तथा समाजप्रति सक्रिय पुस्तालाई बेबी बुमर्स भनिएको छ। त्यसबेलाको व्यापक जन्मदरमा जन्मेको हुनाले त्यसलाई बुमर्स नाम दिइएको हो। १९६५–१९८० भित्र जन्मेको पुस्ता जो स्वतन्त्र तथा प्रविधिसम्बद्ध छ त्यसलाई जेन एक्स अर्थात् एक्स पुस्ता भनिन्छ। सन् १९८१–१९९६ भित्र डिजिटल युगमा हुर्केका र सामाजिक चेतना भएका पुस्तालाई सहस्राब्दी वा जेन–वाई भनेर चिनिन्छ। १९९७–२०१२ सम्म जन्मेको, इन्टरनेट लगायत सामाजिक सञ्जालमा डुबेको पुस्तालाई जेनजी भनिएको छ। जन्मेदेखि नै विज्ञान र प्रविधिले घेरिएको २०१३ देखि हालसम्मको पुस्तालाई जेन–अल्फा भनिन्छ। यसरी पुस्ता विभाजन गरेर एउटा पुस्ताका विरुद्ध अर्कोलाई भिडाउनु भनेको वर्गसंघर्षलाई गोलमटोल पार्ने साम्राज्यवादी राजनीतिकै जारी रूप हो भन्ने कुरा भने हामीले बुझ्नैपर्छ। यसमा युवाहरू कहीँ पनि अलमलमा पर्नु हुँदैन। तर जेनजी पुस्ता नै सबभन्दा ऊर्जाशील र सक्षम पुस्ता हो। यस पुस्ताबारे माओले भारी महत्त्व दिँदै भन्नुभएको छः
“युवाहरू हो ! यो संसार तिमीहरूकै हो, हुन त हाम्रो पनि हो, तर अन्तिम विश्लेषणमा तिमीहरूकै हो किनभने तिमीहरू भनेका बिहान आठ–नौ बजेको सूर्य हौ, हामी अस्ताउँदो सूर्य हौँ। तिमीहरू फक्रँदो फूलहरू हौ, हामी झर्दो फूलहरू हौँ।” यो सम्बोधन माओले १९५۷ मा पूर्व सोभियत संघको मास्कोमा गएर गर्नुभएको थियो जसबेला अन्तर्राष्ट्रिय रूपमा साम्राज्यवादद्वारा निर्देशित आधुनिक संशोधनवाद र क्रान्तिकारी कम्युनिस्टहरूबीच भीषण दुई लाइन संघर्ष चलिरहेको थियो।
जेनजी पुस्ताले तेस्रो सहस्राब्दीपछि विश्वव्यापी आन्दोलन चलाउँदै आएको छ। अरबियन देशहरूमा कलर मुभमेन्टका नामले प्रख्यात छ। सन् २०१० मा यो ट्युनिसियाबाट सुरु भयो। यसलाई ‘अरब वसन्त’ पनि भनिन्छ। यो इजिप्ट, लिबिया र सिरियासम्म फैलियो र २०१२ सम्म चल्यो। भ्रष्टाचार, बेरोजगारी, मानव अधिकार उल्लंघन र सत्ता दुरुपयोग यसका मुद्दाहरू थिए। यसैगरी २०११ मा अमेरिकाको न्यूयोर्कमा ‘अकुपाई वाल स्ट्रिट’ नामक युवा आन्दोलन भयो। यो एक प्रतिशत र उनान्सय प्रतिशतबीचको असमानता, धनको स्रोतमा एकाधिकार र प्रणालीगत भ्रष्टाचार विरुद्धको आन्दोलन थियो। यो आर्थिक–सामाजिक आन्दोलन संसारभरि फैलियो। ‘हामी उनान्सय प्रतिशत’ यसको नारा थियो। हङकङमा चीनको नियन्त्रणले गर्दा अभिव्यक्ति स्वतन्त्रता हनन भयो भन्दै त्यहाँका युवाहरूले २०१४–२०२० सम्म ‘छाता आन्दोलन’ चलाए। आन्दोलनलाई नियन्त्रण गर्न अश्रुग्यास र चिली स्प्रे प्रयोग भएकोले त्यसलाई रोक्न छाता प्रयोग गरियो। यही कारणले यसलाई छाता आन्दोलन भनियो। २०१८ मा ग्रेटा थनबर्ग नामक युवतीले स्विडेनको संसद्बाहिर जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई लिएर स्कुल हडतालको आह्वान गरिन् र धर्ना बसिन्। २०२० मा अमेरिकामा जातीय विभेद र प्रहरी दमनका विरुद्ध ‘ब्ल्याक लाइभ्स म्याटर’ नामक युवा आन्दोलन भयो। सामाजिक सञ्जालबाटै फैलिएको यो आन्दोलनले विश्वव्यापी समर्थन प्राप्त गरेको थियो। २०१९–२०२० मा इन्डोनेसियाका युवा विद्यार्थीहरूले संसद्ले भ्रष्टाचार नियन्त्रण आयोगको अधिकार घटाउने कानुन पारित गरेपछि ‘रिफर्मासी डिक्रप्सी’ (सुधारमा भ्रष्टाचार) नामक आन्दोलन चलाए। भ्रष्टाचार, प्रेस स्वतन्त्रता हनन, वन विनाश र जलवायु परिवर्तन त्यसका मुद्दाहरू थिए।
२०२०–२०२२ मा फिलिपिन्सका युवाहरूले कथित आतंकवादी ऐनका विरुद्ध ‘जंक टेरर ल’ नामक आन्दोलन चलाए जसलाई ‘युवा प्रतिरोध वा भावी फिलिपिन्सका लागि शुक्रबार’ पनि भनिन्छ। यसरी नै नजिकै दक्षिण एसियाको श्रीलंकाका युवाहरूको २०२२ मा गहिरो आर्थिक संकटलाई लिएर ‘अरागलय’ (सिंहाली भाषामा विद्रोह) चल्यो। यसका मुद्दाहरू विदेशी मुद्राको अभाव, इन्धन, खाना, औषधि आदि थिए। राष्ट्रपति गोटबाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिई देश छोडेर भागेपछि क्रमशः राष्ट्रपति रणिल विक्रमसिंघे र प्रधानमन्त्री डिनेश गुणवर्दने भएका छन्। त्यो अरागालयबाट कुनै गुणात्मक परिवर्तन भएको थिएन। अर्को छिमेकी देश बंगलादेशमा पूर्व कर्मचारीका छोराछोरीले कोटा प्रणालीमा जागिर पाउने परम्परालाई लिएर २०२४ को जुलाईमा युवा विद्यार्थीहरूको अगुवाइमा विद्रोह भड्कियो। १५ वर्ष राज गरेकी शेख हसिना वाजेद विद्रोहको सामना गर्न नसकेर भारतमा शरण लिन पुगिन्। त्यहाँ पनि अमेरिकी सरकारको म्यागसेसे पुरस्कार प्राप्त व्यक्ति प्रधानमन्त्री मोहम्मद युनुस भए। कुनै गुणात्मक परिवर्तन भएन। यहाँ उल्लेखित आन्दोलनहरू नेपालमा जेनजी विद्रोहका प्रेरकहरू हुन्। शासकहरूले देशका जनता तथा तिनका छोराछोरीको समस्या कहाँ पुगेको छ र उनीहरू वर्तमानमा के चाहन्छन् भन्ने कुरा बुझेनन् भने देशलाई स्वर्ग बनाइदिने युवाहरूले खरानी पनि बनाइदिन सक्छन्। यो कुरा हामी क्रान्तिकारीहरूले राम्रोसँग बुझ्न जरुरी छ।
३– नेपालमा जेनजी विद्रोह
वि.सं. २०८२ साल भाद्र २३ र २४ गते चलेको युवा विद्रोह शोषक वर्गको राज्यसत्ता ध्वस्त पारेर शोषित वर्गको राज्यसत्ता स्थापनार्थ भएको विद्रोह होइन, बरु सरकारको सतही र अदूरदर्शी सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय र वर्षौंदेखि थुप्रिएको भ्रष्टाचार विरुद्धको विद्रोह थियो। गलतका विरुद्ध विद्रोह गर्नु नैसर्गिक अधिकार हो। यस विद्रोहको कारणबारे स्पष्ट पार्दै भाद्र २९ देखि आश्विन १ सम्म बसेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राजनीतिक परिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा प्रेस वक्तव्य दिँदा का.वा. महासचिव गौरवद्वारा संश्लेषण गरिएको छ–
“लामो समयदेखि थुप्रिएको भ्रष्टाचार; शोषित–पीडित नेपाली श्रमजीवी जनताले पूर्ण मुक्तिको आशा गरेको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनबाट खाएको धोका; नवऔपनिवेशिक आर्थिक–सामाजिक स्थितिले जन्माएको दलाल तथा नोकरशाही पुँजीवाद र त्यसको राज्यव्यवस्था; कहालीलाग्दो बेरोजगारीका कारण विश्व श्रमबजारमा पोखिएको युवा रगत पसिनाद्वारा आर्जित विप्रेषणमा गरिएको शासकवर्ग र म्यानपावर कम्पनीका मालिकहरूको भोजभतेर; शिक्षा, स्वास्थ्य र सञ्चारप्रदायी संस्थाहरूको निजीकरण र तिनको ब्रह्मलुट; आकासिँदो कालोबजारी; सरकारी बजेटमा केन्द्रदेखि स्थानीय तहसम्म लुटखसोट; निजामती तथा जंगीअड्डाहरूमा दृश्य तथा अदृश्य भ्रष्टाचार; डिजिटल युगमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध यो विद्रोहका लागि नियमिततामा जम्मा भएको बारुद हो भने जेनजीले यतिबेलै आगो झोसिदिनु आकस्मिकता हो।”
एकपटक दार्शनिक प्रवर्ग नियमितता र आकस्मिकतालाई बुझ्ने कोसिस गरौँ। यहाँ उद्धृत पार्टीको धारणामा उल्लेखित घटनाहरू नियमितताका अभिव्यक्तिहरू हुन् भने अकस्मात् विस्फोट भए जस्तो लाग्ने जेनजी विद्रोह आकस्मिकता हो। आखिर आकस्मिकता भनेको नियमित घटनाहरूको क्रमभंगता, गुणात्मक छलाङ, महाविपत्ति र रूपान्तरण हो। नियमितताको अध्ययन गहिरो र गतिशील भएन भने भावी दिनमा के होला भनेर अनुमानसमेत गर्न सकिँदैन। यसले गर्दा आकस्मिक घटनाहरूको परिणामले हामी आफ्नै छातीमाथि परेड खेल्दै गएको थाहा पाउन सक्दैनौँ। यस घटनाले कम्युनिस्टहरूलाई नियमित घटनामा अद्यावधिक रहन र नियमितताको तापक्रम मापन गरिरहन सिकाएको छ। लेनिन नियमितताको मापन गर्न सिपालु हुनुभएकोले नै सफल हुनुभएको हो। त्यही कुरा माओमा पनि लागू हुन्छ।
जेन–जेड वा समग्र युवा पुस्ता रूढिवादी संस्कार र संस्कृतिमा टाँसिएको हुँदैन, यो विज्ञान, प्रविधि, खासगरी सूचना प्रविधिसहित स्वच्छ रक्तसञ्चार भएको पुस्ता हो। समाजशास्त्रीहरूले १३–२८ वर्षका पुस्तालाई यसमा राखेका छन्। यो युवा पुस्ताले नै समाजमा व्याप्त अन्धविश्वासलाई चुँडाउन सक्छ र नयाँ–नयाँ आविष्कार गर्न सक्छ भन्दै माओले भन्नुभएको छ– “युवाहरूले वृद्धहरूलाई उछिनेका र उच्च प्रकारका शिक्षितलाई अशिक्षितले उछिनेका कैयौँ उदाहरणहरू छन्” –आठौँ पार्टी महाधिवेशनको दोस्रो सत्रमा भाषण– १९५८ मे ८–२३, श्रमिकवर्ग प्रकाशन हैदराबाद भारतद्वारा सन् १९९५ मा प्रकाशित माओ चुनिएका रचनाहरूको अंग्रेजी संस्करण, ग्रन्थ ८, पृ.७९।
उहाँले सयौँ युवाहरूको उदाहरण दिँदै मार्क्स र लेनिनसम्म पुगेर भन्नुभएको छ–
“मार्क्सले आफ्नो प्रौढ वा वृद्ध उमेरमा मार्क्सवादको सिर्जना गर्नुभएको थिएन, बरु आफ्नो युवा उमेरमा मार्क्सवादको सिर्जना गर्नुभएको थियो। जसबेला उहाँले कम्युनिस्ट घोषणापत्र लेख्नुभयो त्यसबेला उहाँ २९ वर्षको हुनुहुन्थ्यो। लेनिन १९०३ मा बोल्शेविकवाद स्थापना गर्दा ३२ वर्षका हुनुहुन्थ्यो” –उही, पृष्ठ ८१।
माओका यी सबै भनाइहरूले मानिसको ऊर्जावान् उमेर भनेको युवा उमेर नै हो भन्ने कुरा प्रमाणित गरेका छन्।
यहाँ जेनजी विद्रोहको कारक केपी ओली सरकार नै बन्यो। ‘जापानी अतिक्रमणका विरुद्ध चिनियाँ जनयुद्धको प्रतिरोध र विश्व फासिवादी युद्ध विरोधी विजयको ८० औँ वर्षगाँठमा भाग लिन ओली ३ सेप्टेम्बर सन् २०२५ मा बेइजिङ पुगेका थिए। त्यहाँ चीनले विशेष सैन्य परेडको आयोजना पनि गरेको थियो। त्यस अवसरमा प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच तथा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट भएको थियो। त्यहाँबाट प्रधानमन्त्री फर्केपछि मन्त्रिपरिषद्को बैठकले दर्ता नभएका सामाजिक सञ्जालका नेपालमा चलिरहेका धेरैजसो सञ्चारमाध्यमहरू बन्द गर्यो। एकातिर चीनले आयोजना गरेको फासिवादी युद्धविरोधी समारोहमा अमेरिका तथा जापान विरोधीहरूसँग भेटघाट गरेका समाचारहरू प्रकाशनमा आयो र अर्कोतिर सामाजिक सञ्जालका धेरैजसो सञ्चारमाध्यमहरू बन्द भएपछि डिजिटल युगमा हुर्केर व्यस्त भएको जेनजी पुस्ता आक्रोशित भयो।
वि.सं. २०८२ को २३ र २४ गते, अर्थात् ८ र ९ सेप्टेम्बर २०२५ नेपालको इतिहासमा अविस्मरणीय दिन बन्न पुगे। लामो समयदेखि थुप्रिएको भ्रष्टाचार, वाक् तथा प्रकाशन स्वतन्त्रतालाई प्रमुख मुद्दा बनाएर जेनजी पुस्ता स्वतःस्फूर्त भाद्र २३ गते विद्रोहमा उत्रियो। सामाजिक सञ्जालमै संगठन र संघर्षको योजना बनाएको यो पुस्ताको स्वतःस्फूर्त तथा स्वतन्त्र विद्रोहलाई आफ्नो नियन्त्रणमा लिएर स्वार्थ सिद्ध गर्न पश्चिमा साम्राज्यवादी र दक्षिणको विस्तारवादी तत्त्वहरू त्यसमा सुरुकै दिनदेखि घुसपैठ भए। प्रतिगामी तत्त्वहरू गत वर्षको फागुनदेखि नै तयारीमा थिए। साम्राज्यवादी तथा विस्तारवादी र प्रतिगामी तथा प्रतिक्रियावादीहरू योजनाबद्ध लागेका थिए। २३ गते बानेश्वरमा एम्बुलेन्सबाट गोली चल्यो। त्यो गोलीबाट केही युवाहरू ढले। त्यसमा प्रहरीले अन्धाधुन्ध गोली चलायो। यसबाट सयौँ घाइते भए र केही घण्टाभित्रै दर्जनौँको मृत्यु भएको घोषणा अस्पतालहरूले गर्न थाले। घुसपैठको पुष्टि निवर्तमान प्रधानमन्त्री र स्वतन्त्र रूपमा जनताको अभिव्यक्तिबाट पनि हुन्छ। घुसपैठ भए पनि र प्रहरीले गोली चलाएर भए पनि गोलीकाण्डको जिम्मेवार त सरकार नै हो।
दोस्रो दिन भाद्र २४ गते जेनजी विद्रोह छ दर्जन शहीदहरूको रक्तबीजका रूपमा देशव्यापी बन्न जान्छ। त्यसको नेतृत्व र योजना भने साम्राज्यवादी तथा विस्तारवादी र प्रतिगामीहरूको हातमा जान्छ। संसद्वादी नेताहरूका निवास र संसद्वादी दलका कार्यालयहरू, मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारदेखि महानगर, नगर र गाउँपालिकासम्म, सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म, भाटभटेनी लगायतका केही व्यापारिक केन्द्रहरू, प्रहरी परिसरदेखि चौकीसम्म कैयौँ स्कुल र कलेजहरू अग्निज्वालामा भस्म भएका छन्। कुनै पनि गैरसरकारी संस्थाहरू रहेका भवनहरू, कुनै पनि राजदूतावासहरू, कुनै पनि दलाल पुँजीपति र तिनका व्यापारिक केन्द्रहरू, कुनै पनि भ्रष्ट नोकरशाहहरूका निवासहरू यो अग्निज्वालाको जिभ्रोले चाट्न पाएन। राज्यसत्ताको मेरुदण्ड सेना र सुरक्षा निकाय संसदीय नेताहरूलाई गिरफ्तार गरी ब्यारेकमा बन्द गर्नुबाहेक अरू सबैमा रमिते बन्यो। यसबाट प्रस्ट बुझिन्छ, इमानदार र स्वतःस्फूर्त जेनजी विद्रोह कसको हातको खेलौना बन्यो।
२४ गते साँझदेखि सेनाले राज्यसत्तालाई आफ्नो नियन्त्रणमा लिन खोज्यो। सेनापतिद्वारा सम्बोधन गरियो। २५ गतेदेखि जेनजीका वास्तविक नेताहरू ओझेलमा र अलमलमा पर्न थाले भने नक्कलीहरू र साम्राज्यवादबाट पालितपोषितहरूले दादागिरी प्रस्तुत गरेको देखियो। सरकार बनाउने प्रक्रियामा जंगी अड्डाबाट उनीहरूलाई नै बोलाएको देखियो। अझ उनीहरूलाई दुर्गा प्रसाईं र रास्वपा मार्फत आउनुहोस् भनेको पनि सुनियो। यस्तो बेला सेनाको परमाधिपतिसमेत रहेका राष्ट्रपति सुरक्षाका लागि भनेर ब्यारेकमा कैद थिए। वरिष्ठ पत्रकार किशोर नेपालले राष्ट्रपतिले ‘मलाई जेनजी विद्रोहका नाममा मारे मार, म राजीनामा पनि दिन्नँ र संसद् पनि विघटन गर्दिनँ’ भनेको कुरा बाहिर ल्याए। अन्ततः राष्ट्रपति रामचन्द्र पौडेलको अडान, राज्यसत्ताका विभिन्न निकायमा रहेका देशभक्त र न्यायप्रेमीहरूको संघर्ष, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबीच आपसी संघर्ष तथा सम्झौताले देश यथास्थितिवादमा अड्केको छ। नेपाली जनताको सचेतनताको मात्रा बढेको छ। नेपाली जनता र नेपाली युवा प्रतिगमनकारी र साम्राज्यवादीहरूका चालबाट परिचित भएका छन्।
४) जेनजी विद्रोहका शिक्षाहरू
(क) सर्वप्रथम, जेनजी विद्रोहलाई अभिनन्दन गरौँ, जसले नेपालको समग्र परिस्थितिलाई पर्दाफास गरिदिएको छ। दलाल संसदीय व्यवस्थाका अवयवहरू सरकार, सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र र कारागारका मुख्य–मुख्य अधिकारीहरू कसरी साम्राज्यवाद र विस्तारवादका दास हुँदा रहेछन् भन्ने कुरा चटकेहरूको पछि पनि दौड्न सक्ने नेपालीहरूलाई राम्रोसँग थाहा भयो। अमेरिका, भारत र युरोपेली गुप्तचर संस्थाहरू यी सत्ताका विभिन्न अवयवमा रहेका दासहरू मार्फत कसरी घरआँगनमै आएर खेल्दा रहेछन् भन्ने कुरा पनि ज्ञात भएको छ। यहाँको राज्यसत्ता गैरसरकारी संस्थाहरूको चंगुलमा नराम्रोसँग फसेको कुरा पनि हामी सबैलाई स्पष्ट भएको छ। जनआन्दोलनहरू ती साम्राज्यवादी र विस्तारवादीहरूको कब्जामा पर्दारहेछन् भन्ने कुरा पनि स्पष्ट भएको छ। बिचरा जेनजी युवाहरूको रगत–पसिना पानीमा मिलाउँदा समेत उनीहरू हेरेकोहेऱ्यै भए। अब पनि हामी नेपाली जनता र जेनजीले देशभित्र रवि लामिछाने र बालेन शाहजस्ता चटकेहरूको चटक पटक–पटक विभिन्न रूप तथा रंगमा प्रकट भइरहन्छ भन्ने कुरा नबुझीकन तिनकै पछि लाग्यौँ भने हामी ती चटकेको नक्कली वस्तु किनिरहन्छौँ र बेवकूफ भइरहन्छौँ।
(ख) जतिसुकै शक्तिशाली विद्रोह वा क्रान्ति भए पनि विद्रोहवाहकसँग सही विचारधारात्मक तथा राजनीतिक कार्यदिशा, गतिशील तथा परिपक्व नेतृत्व, देशव्यापी प्रभाव भएको पार्टी र विद्रोह वा क्रान्तिको ठोस योजना र लक्ष्य भएन भने आफैँले सल्काएको आगोमा आफैँ खरानी हुने कुरा सुनिश्चित जस्तै हुन्छ। विचार र लक्ष्यलाई बेवास्ता गरेर जेनजीले संगठन बनाएको थिएन। परिणामस्वरूप, प्रतिगामी, यथास्थितिवादी र साम्राज्यवादीहरूले आफ्नो विचारअनुसार विद्रोहलाई कब्जा गरेर आफ्नो लक्ष्य पूरा गरे।
(ग) आज जसरी मानव बुद्धि–विकास कृत्रिम बुद्धि (एआई) मा भएको छ त्यसरी नै क्रान्ति र विद्रोहको तागत विज्ञान तथा प्रविधि सुसज्जित जेनजीमा भएको छ। जुन पार्टीसँग युवा शक्ति केन्द्रित हुन्छ त्यसले नै विद्रोह सम्पन्न गर्दछ। त्यसकारण क्रान्तिकारीहरूको त्यतापट्टि गम्भीर ध्यान जानुपर्दछ।
(घ) विद्रोह वा क्रान्ति पुरानो राज्यसत्ताको अन्त्य र नयाँ राज्यसत्ताको स्थापनाका लागि हुन्छ। जेनजी विद्रोहमा संलग्न युवा नेताहरूले राजनीति र राजनीतिक पार्टीलाई घृणा गरे। आखिर राज्यसत्ता र राजनीति भनेको विद्यमान अर्थ व्यवस्थाको केन्द्रीय अभिव्यक्ति हो। अर्थतन्त्र आधार हो भने राजनीति, संस्कृति, कला, साहित्य, धर्म यही आधारमा जन्मेका उपरिसंरचना हुन्। राजनीति यी सबैको निर्देशक हो। युवाहरूलाई राजनीतिप्रति घृणा गर्न सिकाएर आफू राज्यसत्ताको सिंहासनमा बस्नु साम्राज्यवादी र पुँजीवादी शासकहरूको पुरानै धन्दा हो। जेनजी विद्रोहबाट उठेको सिंहासनमा ती महानुभावहरू विराजमान भएका छन् जसले युवा पुस्तालाई राजनीति भनेको फोहोरी खेल हो भनेर सिकाउँदै थिए। राजनीति गर्नुहुन्न भनेर राजनीति गर्नेहरू मुर्दावाद !
(ङ) राज्यसत्ता बदल्नु भनेकै सरकार परिवर्तन गर्नु हो भनेर भ्रम सिर्जना गरिरहेका संसद्वादी कम्युनिस्टहरूले यसपालि मीठामीठा डल्ला खाएका छन्। पुरानो राज्यसत्ता सरकार, सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र र झ्यालखानाको योग हो। आमूल परिवर्तनकारीहरूले यो योगलाई ध्वस्त नपारिकन नयाँ राज्यसत्ता स्थापना गर्न र टिकाउन सकिन्न भन्ने कुरा ती कथित कम्युनिस्टहरूले त्यसबेला मनमनै सम्झे होलान् जसबेला सेनाले उनीहरूलाई सुरक्षाका नाममा आफ्नो ब्यारेकमा लिएर कोक्र्यायो। सेना नभएको जनतासँग आफ्नो भन्ने केही हुँदैन भन्ने कुरा यो जेनजी विद्रोहबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनताले शिक्षा लिनैपर्दछ। जेनजीले यो विद्रोहबाट के शिक्षा लिनुपर्दछ भने यही राज्यसत्ता राखेर न त भ्रष्टाचारको अन्त्य हुन्छ न स्वतन्त्रता प्राप्त हुन्छ। तपाईंहरूलाई मान्नुपर्दछ कि तपाईंहरूले साहसका साथ राज्यसत्ताका अंगहरूमाथि प्रहार त गर्नुभयो तर नयाँ राज्यसत्ताको नक्सा तपाईंहरूसँग थिएन। सेना भनेको पुरानो राज्यसत्ताको ढाड हो भन्ने कुरा पनि थाहा थिएन। यति थाहा थियो कि भ्रष्टाचारको अन्त्य हुनुपर्दछ र सामाजिक सञ्जाल खुला गर्नुपर्दछ। राज्यसत्ता र राजनीतिको ज्ञानले मात्र क्रान्तिको उद्देश्य पूरा हुन्छ। यो विद्रोह त अठारौँ शताब्दीका ती अभागी मजदुरहरूको जस्तो भयो जसले हामीले काम नपाउने कारण यी कारखानाका मेसिनहरू हुन् भनेर तिनलाई तोडफोड गर्नतिर लागे र मालिक र राज्यसत्ता छोडिदिए।
(च) नेपालको इतिहासमा सुगौली सन्धि यता सहमति र सम्झौता मात्र होइन सम्झौतावाद हावी भएको छ। वि.सं. २००७, २०२८–२०३८, २०३६, २०४६, २०५२–२०६३ र २०८२ यसका ज्वलन्त उदाहरण हुन्। हामीले यो ऐतिहासिक परम्परामा क्रमभंग गर्नैपर्दछ। होइन भने क्रान्तिका लागि उठेको आन्दोलन सुधारवाद र सम्झौतावादमा फसिरहनेछ।
(छ) आज उत्पादक शक्तिमा विज्ञान र प्रविधि जोडिएको हुनाले उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तरविरोध तीव्र भएको छ। यसकारण व्यवहारमा जेनजी विद्रोहले नेपाली क्रान्ति दीर्घकालीन होइन अल्पकालीन हुन्छ भन्ने देखाएको छ।
(ज) जेनजीहरूले आफ्नो विद्रोहमा नेतृत्वबारे बेवास्ता गरे। यसको परिणाम ‘लंका साध्ने हनुमान, पगरी पाउने गुनो’ भयो। यो मनोगत विषय होइन, बरु इतिहासको आवश्यकतामा मनोगत परिश्रमको जोडफल हो। नेतृत्वबारे लेनिनको भनाइ यस्तो छ: “सामान्य ज्ञानको कुरा के हो भने जनसमुदाय वर्गमा बाँडिएको छ… वर्गहरूको नेतृत्व राजनीतिक पार्टीहरूद्वारा गरिएको हुन्छ, सामान्य नियमअनुसार राजनीतिक पार्टीहरू सबभन्दा आधिकारिक, प्रभावशाली र अनुभवी सदस्यहरूबाट बनेका धेरै–थोरै स्थायी समूहद्वारा सञ्चालित हुन्छन् जो सबभन्दा जिम्मेवार पदहरूमा चुनिएका हुन्छन् तिनलाई नै नेता भनिन्छ”— ‘वामपन्थी’ साम्यवादः एक बालरोग–सन् १९२०, प्रगति प्रकाशन मास्कोद्वारा १९६६ मा प्रकाशित भ्ला.ई. लेनिन सङ्कलित रचनाहरूको अंग्रेजी संस्करण, ग्रन्थ ३१, पृ. ४१।
५) अबको विकल्प
विद्यमान राज्यसत्ताका विरुद्ध विद्रोह गर्नुको अर्थ यथास्थितिमा टालटुल गर्ने होइन, पुरानो राज्यसत्ताको ध्वंश र नयाँ राज्यसत्ताको स्थापना हो। जेनजीको विकल्प एक थरीका भ्रष्टाचारी फ्याँकेर अर्को थरी भ्रष्टाचारी ल्याउने पक्कै होइन। के.पी. ओलीको स्थानमा सुशीला कार्की एउटा अस्थायी विकल्प पनि भएन। यो अस्थायी सरकार पनि साम्राज्यवादको निर्देशनमा बनेको यथास्थितिवादी सरकार हो। हामीलाई स्वाधीन संयुक्त सरकार चाहिएको छ। नेपाली जनताको चाहना पनि न त यथास्थितिवादी सरकार हो न प्रतिगामी राजतन्त्र। देशभक्त, क्रान्तिकारी जनवादी र वामपन्थी पार्टी, समूह र व्यक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलन, त्यो सम्मेलनबाट संयुक्त मोर्चाको निर्माण, उक्त मोर्चाको नेतृत्वमा जनसंघर्ष, त्यो जनसंघर्षका आधारमा स्वाधीन संयुक्त सरकार र उक्त सरकारद्वारा जनगणतन्त्रात्मक संविधान लेखन स्वाधीन संयुक्त सरकारको निर्माण प्रक्रिया र यसको उद्देश्य हो। यसरी मात्र युवाहरूको विद्रोहले आफ्नो उद्देश्य हासिल गर्न सक्छ। कम्युनिस्टहरू भने स्वाधीन संयुक्त सरकारमा मात्र सीमित हुँदैनन्। उनीहरूको लक्ष्य भनेको नेपालको नवऔपनिवेशिक अर्थ–सामाजिक परिस्थितिमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा पुग्ने हो।
लेखक
हेमन्तप्रकाश ओली
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल
स्थायी कमिटी सदस्य हुनुहुन्छ ।