टी–२० विश्वकप अभ्यास खेलमा आज क्यानडा र नेपाल

काठमाडौं माघ २२। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। नेपालले क्यानडासँग भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा प्रतिस्पर्धा गर्न लागेको हो।

खेल दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ।

दुई दिनअघि सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो। उक्त खेलमा दीपेन्द्र सिंह ऐरी र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका थिए। दुवै खेलाडी हाल राम्रो लयमा देखिएका छन्।

रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीसहित नेपाल टी–२० विश्वकपमा तेस्रो पटक सहभागी हुँदैछ। आईसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ।

समूह चरणमा नेपालसँग स्कटल्याण्ड, इङ्ल्यान्ड, इटाली र वेस्ट इण्डिज रहेका छन्। नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्नेछ भने फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

नेपालका सबै समूह चरणका खेल भारतको मुम्बईस्थित वानखडे स्टेडियममा हुनेछन्।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version