काठमाडौँ माघ २० गते। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टी–२० विश्वकपको तयारीस्वरूप आज पहिलो वार्मअप खेल खेल्दैछ। नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।
खेल साँझ सवा ५ बजेदेखि सुरु हुने तालिका छ। यसपछि नेपालले फेब्रुअरी ५ मा क्यानडाविरुद्ध दोस्रो वार्मअप खेल खेल्नेछ, जुन चेन्नईमै दिउँसो सवा ३ बजे सुरु हुनेछ।
रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली टी–२० विश्वकपमा तेस्रो पटक सहभागिता जनाएको छ।
विश्वकप प्रतियोगिता आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ।
नेपाल रहेको समूहमा स्कटल्यान्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्। नेपालले समूह चरणको पहिलो खेल फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्नेछ। त्यसपछि फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
समूह चरणका सबै खेल नेपालले मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्नेछ।



