मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको थप कर लगाउने धम्कीबिच रुसका लागि भारतीय राजदूत विनय कुमारले रुसी उपरक्षामन्त्री जनरल अलेक्ज्याण्डर फोमिनलाई भेटेका छन्। यस बैठकमा उनीहरूले द्विपक्षीय रक्षा सहयोग प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
रुसी रक्षा मन्त्रालयको एक विज्ञप्ति अनुसार, ‘भारतीय राजदूतले अन्तर्राष्ट्रिय रक्षा सहयोगको जिम्मेवारीमा रहेका जनरल फोमिनलाई भेटे। भेटघाट ‘परम्परागत रूपमा न्यानो र मैत्रीपूर्ण वातावरण’ मा भयो।’एजेन्सी,
विज्ञप्तिमा थप भनिएको छ, ‘दुवै पक्षबिच रक्षा क्षेत्रमा पारस्परिक सहयोगसँग सम्बन्धित सान्दर्भिक मुद्दाहरूमा विस्तृत रूपमा छलफल गरियो। यस क्रममा रणनीतिक साझेदारीको भावनामा यो सहयोगलाई अझ सुदृढ पार्ने मनसाय व्यक्त गरियो।’
यो बैठक यस्तो समयमा भएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट कच्चा तेल खरिद गरेकोमा भारतमाथि आगामी २४ घण्टाभित्र कडा प्रतिबन्ध लगाउने धम्की दिएका छन्।