काठमाडौं ,भदौ १६ गते। आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिष्ठाको विषयको बनाएको छ । २०८४ को आमनिर्वाचनको मानक मानिएको यो उपनिर्वाचनलाई ‘मिनी जनमतसंग्रह’ का रूपमा हेरिएको छ । त्यसैले सबै दलहरूले जितका लागि हरसम्भव प्रयास गरिरहेका छन् ।
गत आम निर्वाचनबाट उदाएको र आगामी निर्वाचनमा बहुमत ल्याउने उद्देश्य लिएको रास्वपाले झन् यसलाई विशेष रूपमा लिएको छ । जसरी भएपनि जित निकाल्ने अठोट लिएको रास्वपाले उम्मेदवार टुङ्ग्याएको छ । रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।
रास्वपाले उपनिर्वाचनका लागि साउन ७ गतेदेखि २१ गतेसम्म उम्मेदवार बन्नेहरूका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ९ जनाले उम्मेदवारी दिन दरखास्त दिएका थिए । उम्मेदवारको आरक्षीहरूमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका थिए ।
को हुन् लेखजङ्ग थापा ?
भैरहवाको सिद्धार्थनगर नगरपालिका –९, अञ्चलपुरमा जन्मिएका डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट, अभियन्ता र सामाजिक व्यक्तित्व हुन् ।
नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान् चिकित्सक हुन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।
एक विद्वान चिकित्सकको छवि बनाएका डा. थापा अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । जसले अन्तर्राष्ट्रिय जगातमा उनको बेग्लै पहिचानसमेत बनाएको छ ।
नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा अतुलनीय योगदान पुर्याएका छन् । उनकै टिमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिन अघि जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत स्वीकृत गरेको छ ।
अन्तर्राष्ट्रिय जगत्को समेत विश्वास जितेर अलग्गै पहिचान बनाएका डा. थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धी तालिम दिँदै आएका छन् । यसरी मृत्युको दोस्रो कारणका रूपमा रहेको स्ट्रोकको प्राथमिक उपचारलाई नेपालको दुरदराजमा पुर्याउन उनको ठूलो योगदान छ ।
प्रेरणादायी युवा अभियानकर्ताको बेग्लै परिचय बनाएका डा. थापाले युवाहरूमा उत्प्रेरणात्मक इनर्जी भर्दै आएका छन् । उनी काठमाडौंको व्यस्त जीवनशैलीलाई छल्दै डेढ दशकयता हप्ताको दुई दिन भैरहवा पुगेर बिरामी सेवाको गर्दै आएका छन् ।
साथै, हेल्थ क्याम्पद्वारा रुपन्देहीका विभिन्न ठाउँमा उनले स्वास्थ्य सेवा दिँदै आएका थापाले यहाँका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कोषसमेत स्थापना गरेका छन् ।
मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन् । थापा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य पदमा समानुपातिक उम्मेदवार थिए ।
कस्तो थियो २०७९ को चुनावी प्रतिस्पर्धा ?
२०७९ को आमनिर्वाचनमा रास्वपाले यस क्षेत्रमा समानुपातिकतर्फ १४ हजार मत ल्याएर तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ भने राप्रपा र एमालेको तालमेलबाट राप्रपाका दीपक बोहरा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । करिब डेढ लाख मतदाता रहेको यस क्षेत्रमा समानुपातिक र स्थानीय तहको मतको आधारमा कांग्रेस पहिलो शक्ति देखिन्छ भने रास्वपाको उदयले प्रतिस्पर्धा थप त्रिपक्षीय बन्ने अनुमान छ ।