डेरामा सरेपछि भावुक बने शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पारिवारिक, राजनीतिक र संसदीय यात्राका अन्तरंगहरु सार्वजनिक गरेका छन् ।

भदौ २४ गतेको तोडफोडमा आफ्नो घर जलाइएपछि करिब २ महिना साथीको घरमा बसेर बिहीबार डेरामा सरेका उनले एक अनुभूति लेख्दै जीवनका उतारचढाव भावनात्मक रूपमा सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लामो वृत्तान्त लेख्दै आफू सधैँ सुशासनको पक्षमा भए पनि भ्रष्टाचारी विरोधी निशानामा परेकोमा दुःख व्यक्त गरेका छन् ।

नेता पोखरेलले आफू पनि संसद भएका बेला प्राडो र पजेरो संस्कृति भित्रिए पनि आफूले त्यस्तो सुविधा नलिएको, गम्भीर प्रकृतिको रोग लाग्दा पनि राज्यबाट उपचार सहयोग नलिएको, लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका बेला पुँजीगत खर्च शतप्रतिशत गरेको र आफूले सम्हालेको अर्थ मन्त्रालयमा समेत बेरुजु शून्य रहेको उल्लेख गरेका छन् ।

‘मैले अहिलेसम्म हरेक काममा आफूलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरेँ’ उनले लेखेका छन्, ‘तर भ्रष्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निशानामा हाम्रो परिवार पर्न गयो ।’

पोखरेलले आफ्नो परिवारमा दाङमा शिक्षा र समाजसेवाका लागि ३ सय बिगाहा भन्दा बढी जग्गा दान गरेको उल्लेख गरेका छन् । दाजुभाइसँग अंशवण्डा गरेर हाल आफूसँग चार बिगाहा जग्गा रहेको बताएका छन् ।

पोखरेलले आफूले १६ वर्षको उमेर देखि पढाइका लागि घर छोडेको, त्यसपछि राजनीतितर्फ आकर्षित भएको, अध्ययनकै क्रममा बनारस बस्दा नेपाली समुदायसँग मिलेर समाजसेवा र राजनीति गरेको पनि स्मरण गरेका छन् ।

बनारसको पढाइ सकेर नेपाल फर्किएपछि अनेरास्ववियुको नेपाल बन्दका क्रममा घोराहीमा पक्राउ परेको र करिब पाँच महिना जेल जीवन बिताएको पनि पोखरेलले उल्लेख गरेका छन् ।

कोटेश्वरमा रहेको चार आना जग्गा अमेरिकामा डिभी परेर जानु भएकी आफ्नी जेठी सासू (सुजिता शाक्यकी दिदी)ले दिएको र दाजुले पुख्र्यौली सम्पत्ति बेचेर पठाएको पैसाले घर बनाएको प्रष्ट पारेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version