धान खरिदमा खाद्यले ढिलाइ गर्दा किसान मर्कामा

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया), कात्तिक १६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले धान खरिदमा ढिालाइ गर्दा किसानहरू मर्कामा परेका छन् । 

कार्यालयले धान खरिद समयमा नगर्दा किसानहरू सस्तो मूल्यमा धान बेच्न बाध्य भएका छन् । सरकारले मोटा धानको समर्थन मूल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ ।

किसानहरू दुई हजार पाँच सयदेखि दुई हजार सातसय सम्ममा धान बिक्री गरिरहेका छन् । मध्यम धान केही ढिला उत्पादन हुने भए पनि मोटा धान किसानहरूले धमाधम बिक्री गरिरहेको गुलरिया नगरपालिका –५ सुहेलवाका रामदयाल थारूले बताउनुभयो । 

खाद्य संस्थानले धान खरिद गर्न ढिलाइ गरेको मौका छोपेर व्यापारीहरूले सस्तो मूल्यमा धान खरिद गरिरहेको राजापुर नगरपालिका –७ का किसान पहारी थारूले बताउनुभयो । उहाँले हरेक बर्ष कृषकले धान विक्री गरेपछि मात्र कम्पनीले धान खरिद सुरु गर्ने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विगतमा कम्पनीले धान खरिदको सुरुवात गर्ने वित्तिकै व्यापारीहरूले पनि समर्थन मूल्यमा धान खरिद गर्ने गरेका छन्, कृषकको भलाइका लागि पनि छिट्टै धान खरिद सुरु गर्नुपर्छ ।” गुलरिया नगरपालिका –२ पण्डिपुरका लोकप्रसाद भुषालले व्यापारीहरूले आफूले चाहेअनुसारको धानको मूल्य लगाएको बताउनुभयो । सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीहरूले आँफुखुसी मूल्य राखेको बताउनुभयो । 

किसानले सस्तो मूल्यमा धान बिक्री गरिरहँदा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिदको सुरुवात भने गरेको छैन । गत बर्ष पनि कार्तिकको दोस्रो सातामा धान खरिद सुरु गरेको थियो । यस बर्ष धान खरिदमा झन् ढिलाइ गरेको छ । 

कम्पनीका सूचना अधिकारी चेतमान कठायतले सोमबार प्राथमिक खरिद समितिको बैठक बसेपछि मंगलबारदेखि धान खरिद हुने बताउनुभयो । उहाँ विविध कारणले र खरिद समितिको बैठक बस्न ढिलाइ भएकाले धान खरिदमा ढिला भएको बताउनुभयो । 

यस वर्ष ३० हजार क्विन्टल मात्र धान खरिद गर्ने लक्ष्य राखेको छ । जसमध्ये २५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पानी लिमिटेडले जनाएको छ । गत बर्ष कम्पनीले एक लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको भए पनि ३७ हजार क्विन्टल मात्र धान खरिद गर्न सफल भएको थियो ।  

यता, स्थानीय व्यापारीहरूले किसानहरूको धान सस्तो मूल्य खरिद गर्न थालेपछि ताराताल साना किसान कृषि सहकारी संस्थाले किसानको धान समर्थन मूल्यमा खरिद गरिरहेको छ । हालसम्म मधुवन र गुलरिया नगरपालिकाको किसानबाट तीन हजार क्विन्टल धान खरिद गरिसकेको मुख्य प्रबन्धक डम्बर केसीले बताउनुभयो ।  

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version