काठमाडौँ फाल्गुन ७, नबिल बैंकले आफ्नो ४१औँ वार्षिकोत्सवको अवसरमा महिलाहरूलाई लक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत महिला आवेदकले घर खरिद, निर्माण, मर्मतसम्भार वा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको आवास कर्जा सार्न सजिलो र आकर्षक सर्तमा कर्जा पाउन सक्नेछन्।
योजनाले महिलालाई घरजग्गा स्वामित्वमा पहुँच बढाउन र आर्थिक रुपमा आत्मनिर्भर बन्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।
बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख लक्ष्मी ढकालका अनुसार, ग्राहकले आफ्नो सुविधा अनुसार मासिक किस्ता रकम तय गर्न सक्ने र भविष्यमा आवश्यक परे त्यसलाई घटबढ गर्न मिल्ने लचकदार भुक्तानी व्यवस्था रहेको छ।
यो योजनामा न्यूनतम ७ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। पहिलो पटक घर किन्नेजस्तो महिला ग्राहकलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा दिइनेछ। कर्जा अवधिअन्तर्गत अधिकतम ३५ वर्षसम्मको लचकदार भुक्तानी समय प्रदान गरिनेछ। आधार दरमा १.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध हुनेछ।
यस योजनाभित्र ग्राहकले जीवनभर निःशुल्क क्रेडिट कार्ड लिएर दुई लाख रुपैयाँसम्म सुविधा लिन सक्नेछन्।
योजना आकर्षक हुनका मुख्य कारणमा महिलाको आर्थिक सशक्तीकरणमा योगदान, महिलाको नाममा सम्पत्ति दर्ता प्रोत्साहन,
लामो अवधिको कर्जाले मासिक किस्तामा सहजता रहेका छन् ।
प्रतिस्पर्धी ब्याजदर, लचकदार भुक्तानी व्यवस्था एवम् सरल प्रक्रिया र न्यून कागजी झन्झटले महिला आकर्षित गर्ने बैंकले जनाएको छ ।
सन १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको प्रयोग र मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।



