काठमाडौँ । अभिनेत्रीको लामो करियरमा निता ढुंगाना अधिकारीले दर्जनौँ भूमिका निर्वाह गरिसकेकी छन् । तर कलाकारको रूपमा उनी अझै तृप्त हुन सकेकी छैनन् । कारण हो, ‘नारी सशक्तीकरण र महिला केन्द्रित सशक्त भूमिका’ नपाउनु । जुन उनको अभिनय गर्ने ठुलो चाहना थियो र अहिलेसम्म पूरा हुन सकेको छैन ।
महिलाप्रधान चरत्रिमा थुप्रै फिल्म गरे पनि आफूले चाहेजस्तो भूमिका नमिलेको उनी बताउँछिन् । ‘अब म भूमिका पर्खने मुडमा छैन । बाहिरको आए गर्छु, नआए आफैँ बनाउँछु,’ भन्छिन्, ‘अब त म पनि निर्देशक बन्दैछु ।’
निता फिल्म ‘सुखदुःख’बाट निर्देशकमा डेब्यु गर्ने तयारी गर्दैछिन् । गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्माताको रूपमा देखिएकी उनलाई उक्त फिल्मको अनुभवले निर्देशक बन्न हौस्याएको हो ।
‘ह्रस्व दीर्घ’ले मलाई अर्को सपनाको ढोका खोल्न मद्दत गर्यो,’ उनी भन्छिन्, ‘लामो समयदेखि निर्देशनमा आउने सोच बनाए पनि आँट्न सकेकी थिइनँ ।’ ‘ह्रस्व दीर्घ’ निर्माण गर्दा निर्देशकका लागि आवश्यक धेरै कुरा सिकेको उनी सुनाउँछिन् ।
‘सुखदुःख’ नामको फिल्म पहिल्यै बनिसकेको छ । पारिवारिक कथामा निर्माण भएको उक्त फिल्म स्वर्गीय शिव रेग्मीले बनाएका थिए । फिल्म सुपरहिट भएको थियो ।
हुन त यो नामबाट नयाँ फिल्म बनाउनु आफैँमा ठुलो चुनौती हो । र यो नाम पाउनुलाई नै उनले सौभाग्य ठानेकी छन् । ‘शिव रेग्मीले जस्तो बनाउन सकिन्छ कि सकिँदैन थाहा छैन, तर कोसिस गर्नेछु,’ उनले चुनौती स्वीकार गरिन् । फिल्मका लागि ‘सुखदुःख’को पुरानो टिमसँग सल्लाह र आशीर्वादसमेत लिइसकेको उनी बताउँछिन् ।
फिल्म कलाकारको छनोटमा छ । फिल्ममा पूर्ण पारिवारिक र सामाजिक कथा पस्कने तारतम्य उनको छ । फिल्म फागुनबाट फ्लोरमा लैजाने उनले योजना बनाएकी छन् ।
बालकलाकारदेखि अभिनेत्री, निर्माता हुँदै निर्देशक बन्न लागेकी उनी अभिनय यात्रा भने जारी राख्ने सोचमा छिन् । चित्तबुझ्दो भूमिका पाए बाहिरको प्रोजेक्टमा पनि जोडिने उनको सोच छ ।

निर्देशनको तयारी गरिरहँदा पनि उनी यतिवेला फिल्म ‘रियल रिङ्गेट’को प्रचार–प्रसारमा पनि भेटिइन् । आगामी शुक्रबार (साउन १६) बाट प्रदर्शनमा आउन लागेको फिल्मकी उनी मुख्य अभिनेत्री हुन् । ‘आफ्नो फिल्मको तयारी गरिरहँदा अभिनय गरेको फिल्मलाई बेवास्ता गर्न मिल्दैन,’ उनले रातोपाटीसँग भनिन् ।
‘रियल रिङ्गेट’ वैदेशिक रोजगारीको कथामा बनेको हो । नेपाली समाजको एक अभिन्न र पीडादायी कथा समेटेर तयार भएको फिल्मले धेरै वर्ष पहिले इराकको एक घटनासमेत सम्झाउँछ ।
फिल्म करिब ८–९ वर्षअघि नै सुरु भएको थियो, जसको विषयवस्तु मन परेर उनले रोजेकी थिइन् । ‘फिल्मको विषयवस्तुले छोएको कारण मैले रोजेको थिएँ । विभिन्न प्राविधिक कारणले रोकिएको थियो,’ उनी भन्छिन्, ‘विदेश जाने रहरले मात्र होइन, बाध्यताले पनि हो भन्ने यथार्थ फिल्मले मार्मिक रूपमा पस्किन्छ ।’

फिल्ममा उनी ‘राधिका’ नामक पात्रको भूमिकामा छिन् । ‘राधिका’ गाउँमा बसे पनि आधुनिक सोच राख्ने र केही गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति भएकी युवती हुन्छिन् । ‘रियल रिङ्गेट’ वैदेशिक रोजगारीको कथा मात्र होइन, यसले म्यानपावर कम्पनीबाट हुने ठगी, भिजिट भिसाको दुरुपयोग र विदेशमा नेपालीले भोग्नुपर्ने अनेक समस्यालाई समेत उजागर गर्ने प्रयास गर्छ ।
‘फिल्मले सकेसम्म विदेश नै नजाऔँ, जानै परे पनि सबै कुरा बुझेर मात्र जाऔँ भन्ने सन्देश दिन्छ,’ उनी थप्छिन्, ‘विदेशमा गएका सबै खुसी छैनन् भन्ने देखाउँदै आफ्नै देशमा केही गरौँ भन्ने भावनासमेत यसले जगाउँछ ।’ तर उनले यस फिल्मबाट व्यावसायिक अपेक्षा भने त्यति गरेकी छैनन् रे ! यसको कारणबारे उनी भन्छिन्, ‘फिल्मको प्रचार–प्रसार चित्तबुझ्दो छैन । फिल्मको विषय पनि कमर्सियल होइन र देखाउने कलाकार पनि त्यति छैनन् ।’ फिल्मको व्यावसायिक पक्ष कस्तो हुन्छ भन्न नसके पनि राम्रो फिल्म बनेको उनको दाबी छ ।
‘सुरुमा फिल्म जति दर्शकले हेर्छन्, उनीहरूकै माउथ पब्लिसिटीका कारण फिल्मले पिकअप लिने सम्भावना मैले देखेको छु,’ उनी अगाडि भन्छिन्, ‘व्यावसायिक रूपमा के होला भन्न सक्दिनँ । फिल्मचाहिँ राम्रो बनेको छ ।’ ‘रियल रिङ्गेट’ जस्तो विषयवस्तुमा फिल्म हत्तपत्त नबन्ने उनको भनाइ छ ।

- निर्माताको रूपमा अनुभव
अभिनेत्रीको रूपमा सफल र व्यस्त हुँदाहुँदै पनि उनले ‘ह्रस्व दीर्घ’मार्फत निर्माणमा हात हालेकी हुन् । निर्माताको रूपमा पहिलो प्रयास त्यति सुखद भएन । तर उक्त फिल्मबाट लगानी भने गुमाउनु नपरेको उनको भनाइ छ ।
दक्षिण भारतीय कलाकारहरूको ओइरो लगाएर बनाइएको उक्त फिल्मले विभिन्न डिजिटल राइट र अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममार्फत लगानी सुरक्षित गर्न सकेको थियो ।
फिल्मको स्याटेलाइट र ओटीटी राइट भारतको जी–नेटवर्कले किनेको थियो । नेपालका लागि यो नयाँ कीर्तिमान बन्यो । किनभने त्यति ठुलो प्लेटफर्मले नेपाली फिल्म किनेको यो नै पहिलो हो । निर्माता बन्दाको अनुभवले उनलाई पैसा र सफलताभन्दा ठुलो कुरा सिकाएको छ, त्यो हो, सहानुभूति ।
‘जब म कलाकार मात्र थिएँ, निर्माताको पीडा बुझ्दिनथेँ । तर आफैँ मेकर भइसकेपछि थाहा भयो, एउटा फिल्म बनाउन कति च्यालेन्ज हुँदोरहेछ,’ उनी अनुभव सुनाउँछिन्, ‘मेकर बन्न साँच्चै गाह्रो रहेछ ।’
निर्माता बनेपछि फिल्मका हरेक पाटो नजिकबाट नियाल्ने मौका उनले पाइन्, जसले गर्दा अन्य निर्माताहरूको दुःख र सङ्घर्षप्रति उनको सम्मान अहिले बढेको छ ।
त्यही भएर पनि उनी अहिले निर्देशनको तयारीको काम छोडेर अभिनय गरेको ‘रियल रिङ्गेट’को प्रचारमा सक्रिय छिन् । भन्छिन्, ‘हरेक फिल्म आफ्नै हो र निर्माता बाँच्नुपर्छ भन्ने भावना जाग्छ ।’