निर्वाचनअघि ४८ घन्टा अघिबाट नेपाल–भारत सीमानाका बन्द

काठमाडौँ माघ २५। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका निर्वाचन सुरु हुनुभन्दा ४८ घण्टा अगावै बन्द गरिने भएको छ। सीमा सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले यो निर्णय गरिएको हो।

मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले उक्त निर्णय गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो।

बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा विस्तृत छलफल भएको थियो।

त्यसैगरी सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच सहमति भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सीमाक्षेत्रका सम्भावित जोखिमयुक्त नाकाहरू पहिचान गरी खतरा मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासीहरूको गतिविधिमा निगरानी बढाउने र विभिन्न तहमा नियमित चेकजाँच गर्ने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्। आपराधिक तत्वबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने र सीमाक्षेत्रमा मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले नेपाल–भारत सीमा दुई देशबीचको रेखा मात्र नभई मित्रता र सहकार्यको प्रतीक भएको उल्लेख गर्नुभयो। समकक्षी भारतीय सशस्त्र सीमा बलका डिआइजी सरोजकुमार ठाकुरले सीमाक्षेत्रलाई आगामी दिनमा अझ सुरक्षित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समन्वय बैठकमा नेपालबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापाको सहभागिता रहेको थियो भने भारतीय एसएसबीको तर्फबाट डिआइजी सरोजकुमार ठाकुर, मन्जित सिंह, सुरेश सुब्रमणियम, राजेस टिक्कु र मनिष कुमार उपस्थित थिए।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version