निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध, सामाजिक सञ्जालमा कडाइ

काठमाडौँ। नेपाल सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार आगामी फागुनमा हुने निर्वाचनमा ड्रोन उडाउन नपाइने गृह मन्त्रालयले स्पष्ट पारेको हो।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले निर्वाचनको सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भइसकेको जानकारी दिनुभयो। सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि समेत नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने पनि उहाँले बताउनुभयो।

निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा विशेष टोली परिचालित रहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको उल्लेख गर्नुभयो।

साथै, निर्वाचन प्रहरीको बिमा, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान तथा आवश्यक प्रबन्ध मिलाउने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो। गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचन सुरक्षामा कुनै कमजोरी नदेखिन निर्देशन दिइसकेको उहाँको भनाइ छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जनशक्ति परिचालन, बन्दोबस्ती र सुरक्षा व्यवस्थाबारे समीक्षा गर्दै जिम्मेवार निकायलाई प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशन दिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।

यसैबीच, गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा संयम अपनाउन अनुरोध गर्दै मिथ्या, भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने सामग्री पोस्ट नगर्न चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न भए कानुनी कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version