नेपाल टेलिकमको २२ वर्षीय यात्रा : सातै प्रदेशमा फोरजी, फाइभजीको तयारी

काठमाडौँ  माघ २३। नेपाल टेलिकमले स्थापना भएको २२ वर्ष पूरा गरेको अवसरमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ। केन्द्रीय कार्यालयसहित देशभरका प्रादेशिक निर्देशनालय र कार्यालयमा समारोह आयोजना गरी वार्षिकोत्सव मनाईएको हो ।

केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिकी अध्यक्ष लक्ष्मी कुमारी बस्नेतको अध्यक्षता रहेको थियो। प्रमुख अतिथि गृह मन्त्री ओम प्रकाश अर्यालले डिजिटल डिभाइड न्यूनीकरण र ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तारमा नेपाल टेलिकमले खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फोरजी सेवा सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहसम्म विस्तार भइसकेको जानकारी दिँदै फाइभजी सेवाका लागि तयारी अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार FTTH सेवा विस्तार, डाटा सेन्टर निर्माण, नयाँ बिलिङ प्रणाली र प्राइभेट क्लाउड प्लेटफर्म (एनटी क्लाउड) जस्ता प्रविधिमैत्री परियोजनामा उल्लेखनीय प्रगति भइरहेको छ।

वार्षिकोत्सवको अवसरमा टेलिकमले ग्राहकका लागि विशेष अफर पनि सार्वजनिक गरेको छ। माघ २२ देखि २८ गतेसम्म जिएसएम प्रिपेड तथा पोस्टपेड ग्राहकले सेलेब्रेशन कम्बो प्याक र डाटा बोनस प्याकेज प्रयोग गर्न सक्नेछन्। साथै, FTTH सेवाका नयाँ जडान तथा नवीकरण गर्ने ग्राहकलाई जडान शुल्कमा छुट र मोबाइल डाटा बोनस उपलब्ध गराइने छ।

समारोहमा कम्पनीका उत्कृष्ट बिक्रेता, कार्यालय तथा २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version