काठमाडौं असोज १३, । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले चुनेका प्रतिनिधिबाट आफैँ छानिने खालको प्रक्रियामा गएको आरोप लगाएका छन् । सोमबार (असोज १३) ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले आन्तरिक लोकतन्त्रको ‘भयंकर ठूलो अभ्यास’ देखाउने नाममा गरिरहेको कामले झनै संकट थप्ने उनले टिप्पणी गरे । हालको विकल्प पुराना नेतालाई पार्टीबाट बिदा गर्ने नै रहेकामा उनले जोड दिए ।
वामपन्थीले समाजवादको आधार तय गर्ने विषय अमूर्त रहेको उनले बताए । १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नु नै समाजवादको आधार हुने उनले जिकिर गरे ।
घनश्याम भुसालको भनाइ पढ्नोस्–
हाम्रो प्रचण्डजी अरू केही एकता गरेर, त्यो देखाएर, उहाँले महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा उहाँ लाग्नुभएको छ । यो बडा आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउन नाममा जे गर्दै हुनुहुन्छ, त्यसले पनि समाजमा विश्वास आर्जन गर्न सकेको छैन । कांग्रेसमा त अलमल छँदै छ, अरू पार्टीको कुरै भएन । हामी संकटतर्फ जाँदै छौँ । उहाँहरूले छोड्ने, छाडाउने, यसले पार्टीभित्र र समाजमा जसले यो जिम्मेवारी लिएर राजनीतिलाई यो तहमा लगेको कारणले पार्टी छोड्ने कुराले समाजमा आशा हुन्छ । हामी वामपन्थीहरूले समाजवादको आधार तय गर्ने कुरा अमूर्त कुरा हो । १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्ने कुरा नै समाजवादको आधार हुनेछ । न्युज एजेन्सी नेपाल