काठमाडौं फाल्गुन ७— रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न यस दिवसले प्रेरणा दिएको उल्लेख गरेका छन्।
प्रजातन्त्र दिवस, २०८२ को सन्दर्भमा जारी सन्देशमा उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सम्पूर्णप्रति सम्मान व्यक्त गरेका छन्। प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अग्रजहरूको योगदानप्रति सम्मान प्रकट गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण तथा जनताले अपेक्षा गरेको सुशासन र तीव्र विकासको मार्ग पहिल्याउन प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा योगदान गर्न सबैलाई अपिल गरेका छन्।
उनले २००७ सालको क्रान्तिबाट निरङ्कुश शासनविरुद्धको बलिदानीपूर्ण सङ्घर्षपछि मानवअधिकार र नागरिक स्वतन्त्रता स्थापित भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइने गरेको उल्लेख गरेका छन्।
लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा जनताले निर्माण गरेको वर्तमान संविधानको महत्त्वपूर्ण आधार २००७ को क्रान्ति रहेको स्मरण गराउँदै उनले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउने र सहिदहरूको अमर गाथा सदैव स्मरण गराउने बताएका छन्।
सुशासनमार्फत मुलुकको विकास र समृद्धि हासिल गर्नु नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यस दिशामा सबै एकजुट भएर लाग्न आह्वान गरेका छन्।



