काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिक्रियावादीलाई परास्त गर्न नयाँ विद्रोहको तयारी गरिरहेको बताएका छन् । ‘बोत्ले हत्याकाण्ड’ को स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि एकपटक विद्रोहको आवश्यकता भएको र आफूले त्यसको तयारी गरिरहेको बताएका हुन् ।
जनयुद्धदेखि अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियतले एकपटक फेरि नयाँ क्रान्तिको तयारी भइरहेको उनको भनाई छ ।
‘एकचोटि फेरि क्रान्ति आवश्यक छ । नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ,’ उनले भने, ‘मेरो प्रतिबद्धता पनि यही नै हो । र यसको तयारी पनि गरिरहेको छु ।’
उनले आफुहरु पुनः मध्यपहाडी यात्रामा निस्किने र शहीद परिवारका दुःख सुख बुझ्ने काम बताएका छन् । उनले भने, ‘चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिदैछौं ।’