काठमाडौँ माघ २७। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी (भक्तपुर) मा भइरहेको छपाइ कार्य अन्तिम चरणमा पुगेको हो।
सोमबारसम्म कुल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। उनका अनुसार छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र प्याकिङसमेत पूरा भइसकेको छ। सोमबारसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ गरिएको छ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथरसहित इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट–सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङ जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
यस्तै लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी जम्मा ४४ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्ष दुवै निर्वाचन प्रणालीअन्तर्गत मतपत्र छपाइ कार्य गत पुस २२ गतेदेखि सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी जिल्लाहरूमा पठाइसकिएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस २६ गतेदेखि मतपत्र छपाइ सुरु भई माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ, रुजु र ढुवानी तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्यअनुसार माघ १६ गते बिहानदेखि छपाइ कार्य सुरु गरिएको आयोगले जानकारी दिएको छ।



