प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन

काठमाडौं श्रावण १६ .  प्रधानमन्त्री केपी शर्मा ओलीले फिफाको ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको उद्घाटन गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज दशरथ रंगशालामा आयोजित कार्यक्रममा कोस्तुभ एकेडेमीका शिक्षक तथा विद्यार्थीलाई बल हस्तान्तरण गर्दै उनले कार्यक्रमको औपचारिक उद्घाटन गरे।

अन्तर्राष्ट्रिय अभियानको रुपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम नेपाली फुटबलका लागि ठूलो अवसर भएको प्रधानमन्त्री ओलीले बताए। उनले यो कार्यक्रममार्फत हजारभन्दा बढी विद्यालयमा बल पुग्ने र अभ्यास सहज हुने उल्लेख गर्दै यसले भावी खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यमा भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्ने योजना रहेको दोहोर्‍याए। साथै ऐतिहासिक दशरथ रंगशालाको स्तरोन्नति र मर्मत आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

फिफा र युनेस्कोको सहकार्यमा सञ्चालन भएको यो कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा अघि बढाइएको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिए।

एन्फाले ७७ वटै जिल्लाका १ हजार ७२ भन्दा बढी विद्यालयमा ३२ हजार ६४० बल वितरण गर्ने तयारी गरेको छ। यसबाट करिब ६ लाख युवालाई फुटबलको पहुँचमा ल्याउने लक्ष्य लिइएको छ।

४ देखि १४ वर्ष उमेर समूहलाई लक्षित गर्दै तयार पारिएको यो कार्यक्रम विश्वका थुप्रै देशमा सञ्चालन भइरहेको छ। नेपालमा भने यो पहिलोपटक लागू गरिएको हो।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version