प्रहरीको दाँत झार्ने वडाध्यक्ष छोटेलाल पक्राउ

सर्लाही असोज २३ गते। प्रहरी चौकीमा आक्रमण र प्रहरी कुटपिटको आरोपमा गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दास (छोटेलाल) लाई प्रहरीले पक्राउ गरेको छ।

४० वर्षीय दासलाई मंगलबार इलाका प्रहरी कार्यालय कर्मैयाको गेटअगाडि पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।

असोज १७ गते साँझ वडाध्यक्ष दासको नेतृत्वमा गोडैता प्रहरी चौकीमा ढुङ्गामुढा र बाँसको भाटा प्रहार भएको आरोप छ। घटनामा चौकी इन्चार्ज सई अवधेशप्रसाद यादवको दुई वटा अगाडिका दाँत भाँचिएका छन् भने अन्य पाँच जना प्रहरीसमेत घाइते भएका छन् ।

प्रहरीका अनुसार आक्रमणमा चौकी परिसरका तीन मोटरसाइकलमा क्षति पुगेको छ। घटना दुर्गा पूजाको चन्दा उठाउने विषयमा स्थानीय कारिल यादवमाथि कुटपिट भएपछि सुरु भएको थियो। कारिल यादवलाई कुटपिट गर्ने ठेकेदार अनिलराय यादव पक्राउ परेपछि वडाध्यक्ष दास पक्ष चौकीमा पुगेको र त्यहीँबाट आक्रमण सुरु भएको बताइएको छ ।

वडाध्यक्ष दासलाई कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको अभियोगमा जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ। बुधबार जिल्ला अदालतबाट म्याद थप गरिने तयारी गरिएको छ ।

उता, वडाध्यक्ष दासको पक्राउको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार बन्द गरिएको छ । नगर प्रमुख देवेन्द्रकुमार यादवले दासलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version