काठमाण्डौ फाल्गुन ७, तारिक रहमान बंगलादेशको प्रधानमन्त्री बनेपछि बुधबार बेलुका पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
उनको सम्बोधन बंगलादेश टेलिभिजन (BTV) र बंगलादेश बेतारबाट स्थानीय समयअनुसार राति ९:४५ बजे प्रत्यक्ष प्रसारण गरिएको थियो।
बीबीसी बंगला सेवाका अनुसार प्रधानमन्त्री रहमानले रमजानको समयमा जनताका लागि उपभोग्य वस्तुको मूल्य उचित राख्न व्यापारीहरूलाई निर्देशन दिएका छन्। साथै उनले देशमा कानुनी व्यवस्था सुदृढ गर्ने र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन्।
उनले भने, “फासीवादी युगबाट भ्रष्टाचार र कुशासनका कारण अस्थिर अर्थतन्त्र, कमजोर शासन र बिग्रँदै गएको कानुन व्यवस्थाबीच नयाँ सरकारले आफ्नो यात्रा सुरु गरेको छ। कानुनी व्यवस्था सुधार र भ्रष्टाचारमाथि कडा नियन्त्रणमार्फत जनतामा शान्ति र सुरक्षा पुनर्स्थापित गर्नु हाम्रो मुख्य लक्ष्य हो।”
प्रधानमन्त्री रहमानले देशमा सक्रिय सबै गिरोह र आपराधिक संरचनालाई हटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। “हामीले हजारौँ जीवनको मूल्यमा माफिया गिरोहहरू हटाएका छौँ र राष्ट्र, सरकार तथा जनताको अधिकार स्थापित गर्ने अठोटका साथ शासनको जिम्मेवारी लिएका छौँ,” उनले भने।
उनले नेतृत्व गरिरहेको बंगलादेश नेशनलिस्ट पार्टी (BNP) सरकार सबै क्षेत्रमा फैलिएको अराजकता र अनियमितता अन्त्य गर्न दृढ रहेको उनले बताएका छन्।



