बङ्गलादेशसँग ४–० को हारपछि साफ महिला च्याम्पियनसिपबाट बाहिरियो नेपाल

कास्की माघ २२ । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट घरेलु टोली नेपाल लिग चरणमै बाहिरिएको छ। पोखरा रंगशालास्थित अन्तर्राष्ट्रिय फुटबल रंगशाला भएको लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ४–० गोलले पराजित भएको हो।

खेलको सुरुआतमै बङ्गलादेशले अग्रता लिँदै तेस्रो मिनेटमा प्रोतिमा मुण्डामार्फत गोल गरेको थियो। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अल्पी अख्तरले गोल थप्दै बङ्गलादेशलाई दुई गोलको अग्रता दिलाइन्।

दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि नेपालले प्रभाव जमाउन सकेन। उल्टै खेलको ६७औँ र ८२औँ मिनेटमा अख्तरले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन् र बङ्गलादेशको जित सुनिश्चित गरिन्।
लगातार तीन खेल जित्दै लिगको शीर्ष स्थानमा रहेको बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ। उसले अब उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि सम्पन्न लिग चरणको अर्को खेलमा भारतले भुटानलाई ८–० गोलले पराजित गरेको थियो। दुई जित र एक हारसहित ६ अङ्क जोडेको भारत फाइनल पुगेको हो।

लिग चरणका शीर्ष दुई टोली भारत र बङ्गलादेशबीच अब उपाधिका लागि भिडन्त हुनेछ। नेपालले प्रतियोगितामा एक जित र दुई हारसहित तीन अङ्कमा चित्त बुझायो भने भुटान अङ्कविहीन रह्यो।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version