बेंगलुरु- साउन १८ गते , भारतको बेंगलुरु नजिकैकी एक ३८ वर्षीया महिलामा चिकित्सकहरूले एक अत्यन्त दुर्लभ रक्त समूह पहिचान गरेका छन्, जसलाई ‘सीआरआईबी’ नाम दिइएको छ। यो रक्त समूह विश्वमै निकै विरलै पाइने रक्त समूहहरूमध्ये एक हो।
‘सीआरआईबी’ भन्ने शब्दमा ‘सी’ को अर्थ हो क्रोमर (क्रोमर रक्त समूह वर्ग, जसलाई सीएच पनि भनिन्छ), जुन हालसम्म चिनिएका ४७ रक्त समूहहरूमध्ये एक हो। ‘आइ’ को अर्थ इण्डिया र ‘बी’ को अर्थ बेंगलुरु हो – अर्थात् यो नयाँ रक्त समूह भारतको बेंगलुरु नजिक पत्ता लागेकाले यसलाई यस्तो नाम दिइएको हो।
शल्यक्रियाको तयारीका क्रममा चिकित्सकहरूले ती महिलाको रक्त समूहको स्पष्ट पहिचान गर्न सकेनन्, जसका कारण सामान्यतया प्रयोग गरिने एक–दुई बोतल रगतको भण्डारणसमेत गर्न सकेनन्। यस्तो अवस्थामा मुटुको शल्यक्रिया गर्नु निकै जोखिमपूर्ण हुने गर्दछ।
तर करिब ११ महिनाअघि भएको शल्यक्रिया सफलतापूर्वक, रगत बिना नै सम्पन्न भएको थियो। शल्यक्रियामा संलग्न डा अंकित माथुर अहिले त्यो दिन सम्झँदै ठूलो राहतको महसुस गर्छन्। उनले भने, ‘ती महिला एकदम विशेष थिइन्। हामीले यस्तो रक्त समूह कहिल्यै देखेका थिएनौँ।’
अब यो ‘सीआरआईबी’ रक्त समूहलाई विज्ञानले आधिकारिक रूपमा मान्यता दिएको छ र भारतमा यसलाई एक ऐतिहासिक खोजको रूपमा हेरिएको छ। यो खोजले भविष्यमा दुर्लभ रक्त समूह भएका बिरामीहरूको उपचारमा थप सजिलो र सुरक्षित मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।