काठमाडौं , साउन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग छलफल गर्दैछन् ।
रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीले आज अपराह्न कृषि मन्त्री रामनाथ अधिकारी, सचिव गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई सिंहदरबार बोलाएका हुन् ।
देशमा मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले उक्त समस्या समाधानमा आफूलाई केन्द्रित गरेका छन । यसै सन्दर्भमा प्रधानमन्त्रीले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
यसअघि पनि प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै मलको अभाव हुन नदिन, स्वदेशमा नै रासायनिक मलको उत्पादन कारखाना स्थापना तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना तर्जुमा गर्न निर्देशन दिएका थिए ।