काठमाडौं । मौसम विभागअन्तर्गतको बाढी पुर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै देशका केही सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको भन्दै ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
आज सिन्धुपाल्चोक, चितवन, मकवानपुर, रुकुम पश्चिम, दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने मशाहाखाले औँल्याएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
त्यस्तै इलाम, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, दोलखा, पर्वत, म्याग्दी, डडेलधुरा र बैतडी भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाले जनाएको छ ।

