रोमान्सदेखि एक्सनसम्म : धर्मेन्द्रको ६० वर्षको चम्किलो करियर

काठमाडौँ, मङ्सिर ८ गते । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सोमबार अपराह्‍न उहाँको आफ्‍नै निवासमा निधन भएको हो । 

बलिउड फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्‍यक्त गर्दै अभिनेता धर्मेन्द्रको निधन पुष्टि गर्नुभएको छ । 

उहाँले धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको उल्लेख गर्दै उहाँ भारतीय सिनेमाको इतिहासमा सधैँ चम्किरहने बताउनुभएको छ । धर्मेन्द्रको पार्थिव शरीर श्रद्धाञ्जलीका निम्ति आर्यघाट लगिएको छ। 

बलिउड अभिनेता धर्मेन्द्रले आफ्नो करियर लगभग छ दशकसम्म निरन्तरता दिएर बलिउडमा अमिट छाप छोड्नु भएको छ ।धर्मेन्द्रले करिब छ दशक लामो आफ्नो चम्किलो करियरमा २५० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभयो ।

रोमान्टिक कमेडीदेखि उच्चस्तरीय एक्सन ब्लकबस्टरसम्म समान कौशलका साथ अभिनय गर्ने उहाँको क्षमता प्रशंसनीय मानिन्थ्यो ।

उहाँका चर्चित फिल्महरूमा शोले, चुपके चुपके, मेरा गाँव मेरा देशलगायत धेरै हिट चलचित्रहरू पर्छन्।  उहाँले अर्जुन हिंगोरानीको फिल्म दिल भी तेरा हम भी तेरे (सन् १९६०) बाट धर्मेन्द्रले आफ्नो करियरको सुरुवात गर्नुभएको थियो । 

फूल और पत्थर धर्मेन्द्रको करियरको पहिलो ठूलो हिट थियो । ८० र ९० को दशकमा धर्मेन्द्रले एक्सन भूमिका निभाए र उनले बोलेको संवाद ‘कुत्ते तेरा खून पी जाऊँगा’ निकै चर्चित भयो । धर्मेन्द्रलाई २०१२ मा भारत सरकारले पद्म भूषण सम्मानले सम्मानित गरेको थियो ।

 सन् १९८० को दशकमा उहाँले एक्सन प्रधान चलचित्रहरूको लामो शृङ्खलामा काम गर्दै ‘हि–म्यान’ उपनाम पाउनुभयो ।

त्यसअघि-पछि उहाँले गरेका थुप्रै बेजोड भूमिकाहरू आज पनि बलिउड इतिहासका अविस्मरणीय कोसेढुङ्गाका रूपमा सम्झिन्छन् ।

धर्मेन्द्रको सबैभन्दा चर्चित र प्रिय भूमिकामध्ये सन् १९७५ को क्लासिक फिल्म ‘सोले’ मा उहाँले निभाएको ‘वीरु’ विशेष उल्लेखनीय मानिन्छ । वीरुको हाँसो, जोश र उदार मनका लागि उहाँ आज पनि दर्शकमाझ उत्तिकै लोकप्रिय हुनुहुन्छ ।

शोले, चुपके चुपके, सत्यकाम, मेरा गाँव मेरा देश, धरम वीर, सीता और गीता, फूल और पत्थर, दोस्त  उहाँका उत्कृष्ट फिल्महरु हुन् । 

यो पनि पढ्नुहोस

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

साथै उहाँले संसद् सदस्यका रूपमा पनि सेवा गर्नुभयो र भारतका उच्च नागरिक सम्मानमध्ये एक प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुनुभयो ।

८ डिसेम्बर १९३५ मा पंजाबमा जन्मिनुभएका अभिनेता तथा निर्माता धर्मेन्द्रको पूरा नाम धरम सिंह देओल हो ।

धर्मेन्द्रका पिता विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो। छ सन्तानका पिता धर्मेन्द्र आफ्ना छोराहरू-सन्नी देओल र बबी देओल-अभिनीत चलचित्रहरूको निर्माणमा समेत सक्रिय हुनुहुन्थ्यो, जसले देओल परिवारको बलिउड यात्रालाई निरन्तरता दियो ।

उहाँको अन्तिम अभिनय यात्रा भने निर्देशक श्रीराम राघवनको आगामी चलचित्र ‘इक्किस’ हुनेछ, जसको प्रदर्शन अर्को महिना निर्धारित गरिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version