लुम्बिनी प्रादेशिक अस्पतालमा कुमको जोर्नीको आर्थ्रोस्कोपी शल्यक्रिया

बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालमा आर्थ्रोस्कोपी शल्यक्रिया (दुरबिन प्रबिधि)बाट उपचार नियमित हुन थालेको छ। 

हालै लुम्बिनी प्रादेशिक अस्पतालमा हाडजोर्नी, स्पोर्ट्स इन्जुरी तथा आर्थ्रोस्कोपी विशेषज्ञ डा. आलोक थैवको नेतृत्वमा २१ वर्षीय युवकको बारम्बार फुत्किरहने कुमको समस्या उक्त प्रविधिमार्फत सफलतापूर्वक उपचार गरिएको छ। कुमको आर्थ्रोस्कोपीलाई अन्य जोर्नीको तुलनामा बढी जटिल मानिन्छ, तर पछिल्लो समय यस प्रविधिबाट राम्रो सफलता हासिल भइरहेको डा थैव बताउँछन् ।

डा. थैवका अनुसार, दुरबिन प्रविधिबाट हुने शल्यक्रियामा शरीरमा सानो मात्र चिरा पर्ने, रक्तस्राव कम हुने, घाउ पाक्ने सम्भावना कम हुने, शल्यक्रियापछि हुने दुखाइ पनि कम हुने, अस्पताल बसाइ छोटो हुने र दीर्घकालीन नतिजा राम्रो हुने भएकाले यस प्रविधि विश्वव्यापी रूपमा प्रयोग बढ्दो छ।

उनले थपे, ‘यस किसिमका शल्यक्रिया पश्चात् प्रभावकारी फिजियोथेरापी गरे बिरामीहरू पुनः दैनन्दिन कामकाज र खेलकुद गतिविधिमा सहजै फर्किन सक्छन्। उपचारको सफलतामा फिजियोथेरापीको भूमिका पनि अत्यन्तै महत्वपूर्ण रहन्छ।’

लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले घुँडासहित कुमको आर्थ्रोस्कोपी शल्यक्रिया नियमितरूपमा भइरहेको छ। यसअघि यस्ता शल्यक्रियाका लागि बिरामीहरूलाई काठमाडौँ वा विदेश धाउनुपर्ने बाध्यता रहँदै आएको थियो। अब भने बुटवलमै अत्याधुनिक सेवा उपलब्ध भएपछि यस क्षेत्रका बिरामीले समय, खर्च र झन्झट दुबै बचत गर्न सक्ने भएका छन्।

आर्थ्रोस्कोपी सेवा विस्तारले यस क्षेत्रमा खेलकुदसँग सम्बन्धित चोटपटक तथा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई थप राहत दिलाउनेमा आशावादी रहेको छ। ग्रामीण भेगका बिरामीलाई समेत यस सेवाबाट प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ।

शरीरका कुनै पनि जोर्नीमा दुर्बिनको सहायताले गरिने शल्यक्रियालाई आर्थ्रोस्कोपी  भनिन्छ, जसमा विशेषगरी घुँडा र कुमका उपचार धेरै हुने गर्छ। यीमध्ये पनि कुमको आर्थ्रोस्कोपीलाई चुनौतीपूर्ण मानिन्छ। आधुनिक प्रविधिबाट हुने यस किसिमको शल्यक्रिया शरीरमा सानो मात्र चिरा लगाएर गरिने भएकाले बिरामीका लागि सुरक्षित, सहज र प्रभावकारी मानिन्छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version