–सन्तबहादुर नेपाली
अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरुको इतिहास वर्गसंघर्षको इतिहास हो ।” – कम्युनिस्ट घोषणापत्र ।
विषय प्रवेश
माथिको वाक्य कार्ल माक्र्स र फेडरिक एंगेल्सले १८४८ मा अर्थात् आज भन्दा १७६ वर्ष पहिले कम्युनिस्ट घोषणापत्रमा लेख्नु भएको थियो । हाम्रो देशको एकीकरण भन्दा पहिले बाइसे चौविसे राजा रजौटाहरुको बीचमा लडाई हुने गथ्र्यो । त्यसपछि विभिन्न कालखण्डमा कैयौं संघर्षहरु भएको पाइन्छ । त्यतिबेलाका सामाजिक अन्तर्विरोधहरु सामान्य प्रकारका थिए । निर्मम वर्गसंघर्षको रुपमा थिएनन् । राज्यको स्वरुप परिवर्तन हुँदै जाँदा र राज्य सत्ता शक्तिशाली बन्दै जाँदा अन्तर्विरोधहरुको तीब्र विकास हुँदै गयो । २००७ सालको राणा विरोधी आन्दोलन, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको राजतन्त्र विरोधी आन्दोलन, २०५१ सालदेखि दश वर्षे माओवादी जनयुद्ध, २०६२÷६३ सालको जनआन्दोलनहरु भए । पुँजीवादी चिन्तकहरुको के सोंचाई थियो भने अब ०६२÷६३ को जनआन्दोलन नै अन्तिम आन्दोलन हो । अब नेपाली जनताले रगत बगाउनु पर्दैन । तर त्यो सत्य प्रमाणित भएन । त्यो कुरा २०८२ भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले देखाई दियो ।
जबसम्म वर्गहरु रहन्छन्, संघर्ष चलिरहन्छ। वर्गसंघर्षको उच्चतम रुप हो सशस्त्र युद्ध । हाम्रो देशमा धेरै आन्दोलनहरु भए । तर सामाजिक अन्तर्विरोधहरुको समाधान भएन । प्रत्येक आन्दोलन सम्झौतामा टुंगिए । ०६२÷६३ को आन्दोलनमा नेपाली जनताले वृहत मात्रामा भाग लिएको भए पनि त्यो द्वन्द्वमा सर्वहारावर्गले नेतृत्व गर्न सकेन । शासकहरुका विरुद्ध जनताको आन्दोलन जस्तो देखिए पनि मुख्यतः सामन्तवाद र दलाल पुँजीपतिवर्गबीचको द्वन्द्वको रुपमा देखा प¥यो । सामन्तवाद, एकप्रकारले पराजित भयो र दलाल पुँजीवादका अगाडि आत्मसमर्पण ग¥यो । जनताको लक्ष्य अधुरो नै रह्यो ।
जनता सामन्ती सत्ता विरुद्ध लामो संघर्ष गर्दै आएको र जनयुद्ध तथा जनआन्दोलनमार्फत् आप्mनो मुक्तिको आवाज प्रकट गरे पनि आन्दोलनमा देशी विदेशी प्रतिक्रियावादीहरु हावी भए । उनीहरुको समस्या त समाधान भयो, तर जनताको समस्या समधान भएन । तैपनि नागरिक स्वतन्त्रता, मौलिक अधिकार, समावेशी, समानुपातिक धर्मनिरपेक्षता, गणतन्त्र जस्ता केही उपलब्धिहरु प्राप्त भए । तर जनतामाथिको शोषण, दमन, उत्पीडनको समस्या समाधान भएन । किनकि जनताको सरकार बन्न सकेन । मात्रै सामन्तवादको स्थानमा दलाल पुँजीवादले लियो । अहिले आएर अवशिष्ट सामन्तवाद र दलाल पुँजीवाद मिलेर अमेरिकी लगायत विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको आड भरोसामा पुनः शोषण, दमन शुरु भयो । जनताको मतबाट शासक बनेका कांग्रेस, एमाले र केही समय माओवादी समेत सत्तामा बसेर देशमा भ्रष्टाचार तस्करी, मानव तस्करी कमिशनखोरी, घुस, माफियातन्त्र, लुट, ठगी, बेरोजगारी, हत्या बलात्कार, राष्ट्रघात आदि कार्यलाई प्रोत्साहित गरे, जसले गर्दा देशको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको प्रश्न झन जटिल बन्दै गयो । देश सिक्किम जस्तो बन्ने खतरा उत्पन्न भयो । सीमामा खुलेआम अतिक्रमण भयो । राष्ट्रघाती सन्धि सम्झौता एकपछि अर्को थपिंदै गयो । देशको सार्वभौमिकता नै गुम्न थाल्यो । फेरि दलाल पुँजीवादी शासक र जनताबीचको अन्तर्विरोध तीब्र रुपमा बढ्न थाल्यो । त्यसैको परिणाम जेनजी पुस्ता विरोधका लागि संगठित हुन पुगे ।
जेनजी आन्दोलनको दिशाः
भाद्र २३ र २४ को आन्दोलन जेनजी पुस्ताले आह्वान गरेको थियो । यो पुस्ता राजनीतिक संगठन थिएन । त्यसकारण त्यसको कुनै राजनीतिक उद्देश्य थिएन । दलाल शासकहरुले देशमा वितण्डा मच्चाएपछि देशको मुख्य समस्या भ्रष्टाचारको समस्यालाई उनीहरुले उठाएका थिए । त्यसको साथै फेसबुक समाचारहरुबाट अत्तालिएर सामाजिक संजालमाथि नै सरकारले प्रतिबन्ध लगायो । युवा विद्यार्थीहरुका लागि भ्रष्टाचार भन्दा पनि त्यो प्रतिबन्ध असह्य भयो । त्यसैले जेनजीमा हजारौं हजार युवा विद्यार्थी सामेल हुँदै गए र त्यो देशको एउटा ठूलो शक्ति बन्यो । भाद्र २३ गते जेनजीले त्यही भ्रष्टाचार र सामाजिक संजालमाथिको प्रतिबन्धको विरोधस्वरुप विरोध कार्यक्रम राखेका थिए । उनीहरुको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले हस्तक्षेप ग¥यो । प्रहरीले ताकी ताकी गोली चलायो । २÷३ घण्टामै २० जनाको गोली लागेर मृत्यु भयो र ४०० जना घाइते भए । केपी ओलीको फासिष्ट सरकारले गोली चलाएर आन्दोलनमाथि दमन ग¥यो । आन्दोलन दबिएन बरु झन उग्र बन्यो । भाद्र २४ गतेको आन्दोलन झन् विध्वंशकारी बन्यो । संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, लगायतका सरकारी कार्यालय, निजी भवन, व्यापारिक केन्द्रहरु सबैतिर तोडफोड, आगजनी र लुटपाट भयो । यो सबै क्षतिको जिम्मेवार केपी ओली सरकार नै हो र उसैले त्यसको जिम्मेवारी लिनुपर्छ । केपी ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिन बाध्य भए । त्यसपछि आन्दोलन क्रमशः सेलाउँदै गयो । जेनजी पुस्ताको आन्दोलनबारे कैयौं तर्क तिर्क, विचार विमर्श आइरहेका छन् । त्यसको समीक्षा अत्यावश्यक छ । दुई दिनमा ७० भन्दा बढीको ज्यान गएको छ । खर्बौैंको सम्पत्ति क्षति भएको छ । सयौं घाइते छन् । यसबारे गम्भीर बहस, छलफल तथा समीक्षा गर्नु आवश्यक छ ।
आन्दोलनमा घुसपैठ, चुनौती ः
जेनजी आन्दोलन एक्लै गरिएको आन्दोलन होइन । र, त्यो एक्कासी विस्फोट भएको पनि होइन । आन्दोलनमा थुप्रै तथ्यहरु सामुन्ने आएका छन् । जेनजी समूहमा एकाथरी इमान्दार, देशभक्त र अर्काथरी देशी विदेशी प्रतिक्रियावादीबाट संचालित दलालहरु सचेत रुपमा संगठन निर्माण गर्ने र आन्दोलनको योजना बनाउने व्यक्तिहरु छन् । २३ गते इमान्दार देशभक्त जेनजीहरुले आयोजना गरे । तर दुई बजेपछि जेनजीे नेतृत्व पछाडि प¥यो र प्रतिक्रियावादीहरुका घुसपैठियाहरुले नेतृत्व कब्जा गरे । घुसपैठियाहरुको निश्चित रणनीतिक लक्ष्य थियो । घुसपैठियाहरु एकाथरी हिजो ०६२÷६३ को आन्दोलनबाट सत्ताबाट फ्याँकिएका तत्वहरु पुनः सत्ता प्राप्तिको उद्देश्य बोकेका थिए, अर्काथरी अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादबाट संचालित तत्वहरु थिए । यिनीहरु धेरै पहिलेदेखि योजना, तालिम र अभ्यास गरेर अन्तिममा सत्ता हासिल गर्ने योजनामा थिए । त्यसकारण उनीहरु योजनाबद्ध प्रकारले कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकालाई ध्वस्त पारे । एकै पटक तीनवटै अंगलाई ध्वस्त पार्नु सामान्य कुरा होइन । यसबाट उनीहरु सत्ता कब्जा गर्ने उद्देश्यले लागेका थिए भन्ने बुझिन्छ ।
विद्रोह सधै न्यायपूर्ण हुँदैन । अहिलेको विद्रोह वास्तविक जेनजीको विद्रोह न्यायपूर्ण थियो र त्यो प्रगतिशील थियो । तर नक्कली जेनजीको विद्रोह अन्यायपूर्ण र प्रतिक्रान्तिकारी थियो । त्यसको दिशा प्रतिगमन उन्मूख थियो । वास्तविक जेनजीको लक्ष्य भ्रष्टाचार मुक्त, न्याय, समानता र स्वतन्त्रता भएको उन्नत समाज निर्माण थियो । तर नक्कली जेनजीको यी राज्य सत्ताका संरचना ध्वस्त पारेर सत्ता कब्जा गर्ने र निरंकुश, फासिष्ट वा कठपुतली प्रतिक्रियावादी राज्य सत्ता निर्माण गर्ने थियो । त्यसका लागि लामो समयदेखि अर्बौं रुपियाँ पानी सरह बगाइरहेका थिए । जेनजीका प्रमुखहरुको मुख्य लक्ष्य नेपालमा दलविहीन व्यवस्था ल्याउनु थियो । उनीहरुलाई कुनै पनि दललाई अस्तित्वविहीन बनाउनुपर्छ भनेर “स्वतन्त्र” को अभियान नै चलाएका थिए । त्यसैले युवाहरुलाई पनि कुनै वर्गसंघर्षमा रुचि नराखुन् र सधै आफ्नो मुठ्ठीमा राख्न सकियोस् भनेर उमेर समूह बनाएका थिए । त्यसैले हामीले वास्तविक जेनजीको समर्थन र नक्कली घुसपैठिया जेनजीको विरोधको नीति अपनाउनु पर्दछ । निरपेक्षरुपमा समर्थन वा विरोध गर्नु उचित हुँदैन ।
राज्य सत्ताको भूमिका ः
नेपाली सेनाको विगतको इतिहास हेर्दा आन्दोलनमा त्यसले तटस्थताको नीति अपनाएको देखिन्छ । जनता र शासकबीच समन्वयकारी भूमिका खेल्ने र आफूले कुनै जोखिम लिन नचाहने जस्तो देखिन्छ । यसपटकको आन्दोलनमा शुरुमा सेनाको भूमिका अकर्मण्य देखियो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख अड्डा जल्दा पनि सेना क्षति हुनबाट बचाउन अग्रसर भएन । द्वन्द्वरत पक्षलाई सहमतिमा ल्याउने क्रममा उसको झुकाव राजावादी र कथित स्वतन्त्रहरुप्रति रह्यो । तर जेनजीको विरोधका कारण उनीहरुलाई अगाडि बढाउने काम भएन । राष्ट्रपतिको राजीनामा नदिने अडान र जेनजीले अगाडि सारेको प्रधानमन्त्रीको पात्रलाई समर्थन तथा संसद विघटनको कार्य सापेक्षतामा सकारात्मक रह्न गयो । यसरी नेपाली सेना, राष्ट्रपति र जेनजी प्रतिनिधिबीच भएको सहमति सापेक्षतामा सकारात्मक छ । तर हामी यसको आन्तरिक पक्षलाई ठीकसित बुझ्न सकेनांै भने हामी गलत भट्कावमा पुग्नेछौं । वास्तवमा जेनजीको आन्दोलनमा अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादका एजेण्टहरुको यथास्थितिवादी राजनीतिमा उथलपुथल मच्चाउने र अल्पकालिन विद्रोहबाट सत्ता कब्जा गर्न घुुसपैठ गरिएको थियो । उनीहरुलाई आफ्नै दलालहरुलाई सत्ताबाट किन फाल्नु प¥यो त भने वर्तमान शासकहरुले उनीहरुको नीति निर्देशनका आधारमा काम गर्न असफल भए । त्यसकारण नयाँ अनुहार ल्याउनु परेको थियो । ती नयाँ अनुहारहरु मध्ये कुनै पनि पात्र जनता समक्ष आउन पाएनन् । संकटको स्थिति उत्पन्न भयो । अन्ततः शक्तिकेन्द्रहरु बीच पूर्व न्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भयो । यसरी भ्रष्टाचार विरुद्धको आन्दोलन प्रतिगमनकारी दिशातर्फ सोझिए पनि त्यो प्रतिमगन पूर्ण सफल हुन पाएन र बीचमा अड्किएको छ । देशका अगाडि तीनवटा अवस्था छन् ः आन्दोलनभन्दा अगाडिको यथास्थितिवादी राजनीति, पश्चगामी र अग्रगामी । पश्चगामीहरुको हमला भएको अवस्थामा कमसेकम यथास्थितिवादलाई जोगाउनु पनि प्रगतिशील कार्य हुन्छ अहिले त्यही भएको छ । तर यथास्थितिवादलाई जोगाउने नाममा अग्रगमनतर्फ जान अस्वीकार गर्नुलाई सही नीति मान्न सकिन्न । त्यसकारण अहिलेको प्रधानपक्ष यथास्थितिमा जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरुमाथि टेकेर अग्रगमनमा जानु नै हो ।
पश्चगामी र अग्रगामीधारहरु
जेनजी आन्दोलनपछि राजनीतिक दलका दुईवटा धार देखा परेका छन् । एउटा धार विघटित संसदको पुनस्र्थापना र त्यसबाट बनेको सरकारद्वारा निर्वाचनको घोषणा र अर्कोधार यही सुशिला कार्की नेतृत्वको सरकारद्वारा निर्वाचन सम्पन्न गर्ने र नयाँ सरकार बनाउने । यी दुइवटै धार समस्याको समाधान होइनन् । अहिलेको सरकार देशी विदेशी प्रतिक्रियावादी शक्ति केन्द्रहरुको सहमतिमा बनेको सरकार भएको हुनाले यो नेपाली जनताका लागि मान्य छैन । जेनजी पुस्ताको महान शहादत र बलिदान यही दलाल राज्यसत्ता अन्तर्गतको निर्वाचन गरेर केही व्यक्तिलाई सरकारमा लैजानु थिएन । बरु देशमा वैदेशिक हस्तक्षेपबाट मुक्त स्वाधीन राष्ट्र निर्माण गर्नु थियो । जेनजी आन्दोलनमा सामाजिक न्याय र समानतामा आधारित उच्च सांस्कृतिक मूल्य मान्यता बोकेको उन्नत र समृद्ध राष्ट्र निर्माणको भावना उद्वेलित भएको थियो । त्यसकारण त्यो भावनाको सम्मानका लागि राजनीतिक दलहरु गम्भीर बन्नु पर्ने अवस्था आएको छ ।
अहिलेको कार्की सरकार प्रतिक्रियावादी सरकारको निरन्तरता भएको हुँदा समर्थन गर्ने लायक छैन । यसले जेनजीको भावनाको सम्मान गर्न पनि सक्दैन । उनीहरुले उठाएको प्रगतिशील एजेण्डा समाधान हुने अवस्था पनि छैन । यदि सरकारले कुनै नयाँ कदम चाल्न खोज्यो भने पनि शक्ति केन्द्रहरुले हस्तक्षेप गरेर रोक्ने छन् । जेनजीले उठाएका मागहरुलाई पूरा गर्न एउटा शक्तिशाली मोर्चाको सरकार आवश्यक छ । त्यो मोर्चा देशी विदेशी प्रतिक्रियावादीका दलाल बाहेक सच्चा देशभक्त, जनवादी, वामपन्थी तथा कम्युनिस्ट क्रान्तिकारीको सशक्त मोर्चा बन्नु आवश्यक छ । नेपाली जनताले स्वाधीन जनतान्त्रिक सरकार बनाउनका लागि २००७ सालदेखि हजारौं छोराछोरी गुमाउँदै आएका छन् । तर जहिले पनि एक वा अर्को प्रतिक्रियावादीहरु कै हातमा शासनसत्ता दिनु बाहेक कुनै उपलब्धि भएन । त्यसकारण अबको आवश्यकता स्वाधीन संयुक्त सरकार हो । नाम जेसुकै राखे पनि मोर्चाको सहमतिमा बन्ने सरकार हुनेछ ।
निश्कर्षः
हाम्रो देशको अहिलेको समस्या, राष्ट्रियता; जनतन्त्र र जनजीविकाका समस्या बाहेक सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको समस्या पनि हो । भारतीय शासकहरु नेपाललाई सिक्किमलाई भारतमा गाभे जस्तै गाभ्न प्रयास गरिरहेका छन् । अहिले पनि सरकार निर्माणको प्रश्नमा भारतीय दुतावासको सहमति आवश्यक भएको कुरा चर्चामा आएको छ । भारतले सीमामा भारतीय सेना तैनाथ गरेको छ र नेपालमा कुनै घटना घट्यो भने त्यसलाई साम्य पार्ने नाममा भारतीय सेना नेपाल प्रवेश गर्न सक्ने कुरा सेनाका अधिकारीहरुले बताइरहेका छन् । अमेरिकी साम्राज्यवादले एमसीसीको संरक्षणका नाममा सेना ल्याउन चाहिरहेको छ । देशमा एउटा नयाँ प्रकारको चुनौती आएको छ । त्यसलाई सामना गर्न सबै देशभक्त, जनवादी र क्रान्तिकारी शक्तिहरु एक जुट हुन आवश्यक छ । त्यसका लागि राजनैतिक दल तथा सामाजिक संघसंस्थाहरुको समेत साझा धारणा बन्न आवश्यक छ । त्यसप्रकारको साझा धारणा बनेपछि मात्र सबै प्रगतिशील, क्रान्तिकारी राजनीतिक दल, संगठन, समूह तथा व्यक्तिहरुबीच एउटा शक्तिशाली मोर्चा निर्माण हुन सक्छ । जेनजीको सरकारको नेतृत्व भारतपरस्त व्यक्तिहरुले गरेका छन् । त्यो अवस्थामा वास्तविक जेनजीको उनीहरुसित अन्तर्विरोध बढ्नु स्वभाविक छ । जेनजीमा धेरै ग्रुपहरु भएको हुँदा उनीहरु पनि संयुक्त रुपमा अगाडि बढ्न सक्ने स्थिति छैन । त्यो अवस्थामा राजावादी तत्वहरु पुनः सत्ता कब्जा गर्न खोज्ने छन् । यसरी अहिले कै अवस्था पछिसम्म रहन सक्ने अवस्था पनि रहँदैन । नयाँ प्रकारले प्रतिगमन आउन सक्ने पनि देखिन्छ । यो अवस्थामा दलहरुको मोर्चाले यथास्थितिवादका घटनाहरुको विरोध मात्र होइन, अन्तरिम स्वाधीन सरकार निर्माण गर्नुपर्छ । देशलाई आर्थिक, राजनैतिक, तथा सामाजिक रुपले शोषणलाई कायम राख्ने सबै संघसंस्था खारेज गर्नुपर्छ । एउटा आत्मनिर्भर, स्वाधीन, न्याय तथा समानतामूलक समाज निर्माणको दिशामा अगाडि बढ्नुपर्छ । जसले जनताको जनवादी गणतन्त्रको दिशामा देशलाई लैजान सकोस र वैज्ञानिक समाजवाद तथा साम्यवादको लक्ष्यतर्फ समाजलाई अघि बढाउने काम गरोस् ।
(२०८२ आश्विन ५ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा आयोजित “वर्तमान राजनीतिक परिस्थिति र निकासको प्रश्न ” विषयक अन्तर्किया कार्यक्रममा प्रस्तुत अवधरणा पत्र )