काठमाडौं, भदौ २ गते । हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनीले इजरायलका राष्ट्रपति इसाक हरजोग र संसद् अध्यक्ष अमिर ओहानसँग भेट गरेका छन् ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले त्यहाँका राष्ट्रपति र संसद् अध्यक्षसँग भेट गरेका हुन् ।
विपिनको रिहाइका लागि पहल गर्न गत साउन २६ गते इजरायल पुगेका उनीहरुले विपिनको रिहाइका लागि अनुरोध गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाार्फत जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ ।’
हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली विपिनको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग आफूले यस विषयमा फोन संवाद गरी ध्यानाकर्षण गराएको जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ ।’ यस क्रममा प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैलाई विशेष धन्यवाद पनि दिएका छन् ।
कञ्चनपुरका विपिन सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसबाट ‘लर्न एन्ड अर्न’ अर्थात् सिक्दै, कमाउँदै कार्यक्रममार्फत २०८० भदौ अन्तिम साता इजरायल गएका थिए ।
तर सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्ने क्रममा इजरायली नागरिकहरूसँगै उनलाई पनि लगेर गाजामा बन्धक बनाएको बताइन्छ । त्यसयता विपिन २०८० असोज २० देखि परिवारको सम्पर्कमा छैनन् । उनी हमासकै कब्जामा रहेको भनिए पनि जीवित छन् कि छैनन्, अहिलेसम्म पुष्टि हुन सकेको छैन ।