काठमाडौं माघ २९ । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा नेपालले आज आफ्नो दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र इटाली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। यद्यपि, ५० ओभरको प्रारूपमा भने दुवै टोली तीन पटक भिडिसकेका छन् र ती सबै खेलमा नेपाल विजयी भएको इतिहास छ।
नेपाल र इटालीबीच पहिलो खेल सन् २००५ मा मलेसियामा भएको विश्वकप छनोट डिभिजन–२ मा भएको थियो, जहाँ शक्ति गौचनको अविजित १०६ रनको शतकमा नेपाल विजयी भएको थियो। युरोपेली राष्ट्रविरुद्ध नेपालको त्यो पहिलो शतकसमेत थियो। त्यसपछि २०१० मा इटालीमै भएको विश्वकप लिग डिभिजन–४ मा नेपालले ५ विकेटको जित निकाल्दा अमृत भट्टराईले महत्वपूर्ण ३ विकेट लिएका थिए। पछिल्लो भेट २०१३ मा बर्मुडामा भएको विश्वकप लिग डिभिजन–३ मा भएको थियो, जहाँ नेपालले ८ विकेटको सहज जित दर्ता गरेको थियो।
यसपटक भने टी–२० विश्वकपकै मञ्चमा पहिलो पटक दुवै टोली भिड्न लागेका हुन्। युरोपेली छनोट पार गर्दै पहिलो पटक विश्वकपमा पुगेको इटाली डेब्यु खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो।
तेस्रो पटक टी–२० विश्वकप खेलिरहेको नेपालका लागि आजको खेल अत्यन्त महत्वपूर्ण छ। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले झिनो हार बेहोरेपछि सुपर आठमा पुग्ने लक्ष्य जीवित राख्न इटालीविरुद्ध जित अनिवार्य बनेको छ। समूह ‘सी’ मा नेपालले अझै वेस्ट इन्डिज र स्कटल्याण्डसँग पनि खेल्न बाँकी छ।
पाँच टोली रहेको समूहबाट शीर्ष दुई टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ। नेपालले मंगलबार वानखेडे मैदानमा अभ्यास गरिसकेको र समूह चरणका सबै खेल यही मैदानमा खेल्ने भएकाले मैदानसँगको परिचितता टोलीका लागि ठूलो फाइदा मानिएको छ।
अब सबैको ध्यान — निर्णायक खेलमा नेपालको प्रदर्शन कस्तो रहला भन्नेमा केन्द्रित छ।



