काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका– २ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । गएराति मदिरा तस्करी रोक्न पुगेका प्रहरीले चलाएको गोली लागेर राजगढ– २ का करिब ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका उनको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए।
उनका अनुसार सीमा नजिकबाट ठूलो परिमाणमा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाबमोजिम ‘सर्च अपरेसन’ चलाउँदा स्थानीयवासीले अवरोध गरेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन केही राउण्ड गोली चलाएको थियो ।
यस क्रममा तिघ्रामा गोली लागेका यादवको मृत्यु भएको डीएसपी बस्नेतले जानकारी दिए । झडपका क्रममा एक प्रहरी पनि घाइते भएका छन्। यससँगै प्रहरीले भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरासमेत नियन्त्रणमा लिएको छ