समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम चट, कर्जा कालोसूचीदेखि योग्यता नपुगेकासम्म !

काठमाडौँ माघ २० गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम निर्वाचन आयोगले हटाएको छ।
राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमाथि छानबिन गर्दा विभिन्न कानुनी र प्रक्रियागत आधारमा ती नाम हटाईएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

प्रवक्ता भट्टराईका अनुसार समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता–अयोग्यता, आयोगका विभिन्न निर्णय तथा राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा उम्मेदवारको सूची रूजु गरिएको हो।

आयोगको निर्णयअनुसार नेपाली कांग्रेसबाट एक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट एक र नेपाल कम्युनिष्ट पार्टीबाट तीन जना उम्मेदवारको नाम बन्दसूचीबाट हटेको छ।

हटाइएकामध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जना, प्रदेशसभा सदस्य समानुपातिकतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, तोकिएको उमेर नपुगेका चार जना, मतदाता नामावलीमा नाम नसमेटिएका एक जना र मतदाता नामावलीमा पिछडिएको क्षेत्रसँग सम्बन्ध नराख्ने दुई जना रहेको आयोगले जनाएको छ।

यसैगरी, महिला उम्मेदवारको स्थानमा पुरुष राखिएको पाइएपछि एक जना उमेदवारको नाम हटाइएको छ भने सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

आयोगका अनुसार एकभन्दा बढी कारण भएका दुई जना उम्मेदवार पनि बन्दसूचीबाट हटाइएका छन्।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version