कास्की माघ २४। पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि आज बङ्गलादेश र भारत आमनेसामने हुने भएका छन्।
पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा दिउँसो २ बजे हुने फाइनल खेलमा यी दुई बलिया टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
माघ १७ गतेदेखि ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा साविक विजेता बङ्गलादेशले लिग चरणका तीनवटै खेल जित्दै नौ अङ्कसहित शीर्षस्थानमा रहेर फाइनलमा स्थान बनाएको हो। बङ्गलादेशले भुटानलाई १२–०, भारतलाई २–० र घरेलु टोली नेपाललाई ४–० गोलले पराजित गरेको थियो।
भारतले भने दुई जित र एक हारसहित छ अङ्क जोड्दै लिगको उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको हो। भारतले नेपाललाई १–० ले हराएको थियो भने बङ्गलादेशसँग २–० ले पराजित भएको थियो। अन्तिम खेलमा भारतले भुटानलाई ८–० को फराकिलो अन्तरले हराएको थियो।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)को आयोजनामा पोखरामा पहिलोपटक साफ महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो।

