काठमाडौं , भदौ ८ गते । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ ।
खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपाल र बङ्गलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हार ब्यहोरेको छ ।
नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हरायो ।
बङ्गलादेशले भुटानलाई पहिलो खेलमा ३-१ ले हराउँदा भारतसँग २-० ले पराजित भयो । अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् ।
प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अङ्क जोड्ने टोलीले उपाधि जित्नेछ । हाल भारत २ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ भने बङ्गलादेश र नेपालको समान ३ अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश दोस्रो र नेपाल तेस्रोमा छ ।आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।