काठमाडौँ माघ २० गते। साफ महिला यू–१९ च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाली टोलीले भुटानलाई २–१ ले पराजित गरेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको नेपालले ३६औँ मिनेटमा सिर्जना बडुवालको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा कप्तान सुशिला केसीको प्रहारलाई भने भुटानकी गोलरक्षक सोनाम छोडेनले बचाएकी थिइन्। पहिलो हाफ १–० को अवस्थामा सकियो।
दोस्रो हाफमा पनि दबाब कायम राखेको नेपालले ६९औँ मिनेटमा अग्रता दोब्बर बनायो। स्ट्राइकर वर्षा ओलीको कटब्याकमा प्रतिज्ञा राईले गोल गर्दै नेपाललाई २–० को अवस्थामा पुर्याइन्।
खेल सकिन तीन मिनेट बाँकी रहँदा भुटानले एक गोल फर्काउँदै पुनरागमनको प्रयास गरेको थियो। भुटानकी सोनाम छोडेनले इन्जुरी समयमा गोल गरे पनि नेपालले अन्तिमसम्म अग्रता जोगाउन सफल भयो ।
यस जितसँगै नेपालले प्रतियोगितामा पुनरागमन गरेको छ।
च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा आफ्नो जित निकालेको हो।
अब नेपालले लिग चरणको अन्तिम तथा निर्णायक खेलमा बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। सोमबार नै भएको अर्को खेलमा बंगलादेशले भारतलाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। बंगलादेशका लागि अल्पी अख्तर र अरपिता विश्वासले गोल गरे ।
दुई खेलबाट ६ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा छ।

