काठमाडौँ माघ २९। नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग अब विकल्प होइन, अनिवार्य आवश्यकता बनेको धारणा राखेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले यस्तो बताएका हुन्।
विश्वव्यापी चुनौती र अनिश्चितता बढ्दै गएको अवस्थामा राष्ट्रिय प्रयास र अन्तर्राष्ट्रिय प्रक्रियाबीच सेतुका रूपमा क्षेत्रीय सहकार्य अत्यावश्यक भएको उनले उल्लेख गरे। उनका अनुसार साझा समस्याको समाधानका लागि क्षेत्रीय स्तरको सहकार्य अपरिहार्य भइसकेको छ।
बैठकमा सार्कका महासचिव गोलाम सरवारले पनि चार दशकमा संगठनले हासिल गरेका उपलब्धिको स्मरण गर्दै क्षेत्रीय सहकार्यको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
बिहीबार समापन हुने बैठकले सार्क सचिवालयको बजेट तथा आगामी कार्यक्रमहरू अनुमोदन गर्नेछ। बैठकमा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ।

