काठमाडौं , भदौ ८ गते । रौतहटको गौर नगरपालिका-९, मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेसभित्र एक अज्ञात महिलाको शव फेला परेको छ । शनिवार राति बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सुटकेस खोल्दा करिब ३० वर्षीया महिलाको शव कोचिएको अवस्थामा भेटिएको हो ।
मृतकको पहिचान अझै खुल्न सकेको छैन । प्रहरीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनास्थल नजिकैको एक विद्यालयको सीसीटीभी फुटेज जाँच गरी अनुसन्धान भइरहेको छ ।
यो साता रौतहटमा यो तेस्रो शव फेला परेको घटना हो । यसअघि नेपाल लजमा सप्तरीका उपेन्द्र भगत मृत फेला परेका थिए भने गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहारबाट हत्या भएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।