रामकृष्ण बोहरा
बागलुङ, माघ २५ गते । २० रोपनी जमिनमा फैलिएको सुन्तला बगान । बोट नै झुल्ने गरी लटरम्म फलेका पोषिला सुन्तलाका टिप्दै गरेका दर्जनबढी कामदार । कोही सुन्तलाको ग्रेडिङ गर्दै कोही सुन्तला डोकोमा बोकेर क्रेटसम्म पुर्याउँदै । सुन्तलाको बगान नै खरिद गर्नुभएका म्याग्दीका सुवास थापा भने सुन्तला ढुवानी गर्ने सवारीको प्रतिक्षामा हुनुहुन्छ ।
सुन्तलाको पकेट क्षेत्र मानिने बागलुङको काठेखोला गाउँपालिका वडा नं. ५ र ६ बिहुँका सुन्तला पोखरा, नारायणगढका बजार लैजान व्यवसायीदेखि कामदारसहित बगानमा व्यस्त हुनुहुन्छ । व्यवसायी थापाका अनुसार, सुन्तलाको बोटमा लागेका दानाको आधारमा व्यवसायीहरुले एकदेखि १५ लाख रुपियाँसम्म तिरेर सुन्तला खरिद गर्दै आउनुभएको छ ।
काँधमा बोराको झोला भिरेर सुन्तला टिप्दै गर्नुभएका ३१ वर्षिय धादिङका सुब्बा तामाङ एघार दिनदेखि काठेखोलास्थित किम्बोटको बगानमा सुन्तला टिपेर मखलल हुनुहुन्छ । उहाँ व्यवसायी थापाको आग्रहपछि म्याग्दी र बागलुङका बगानमा सुन्तला टिप्ने काम गर्दै आउनुभएको छ । ‘‘सुन्तला टिप्न थालेको पनि तीन महिना बित्यो’’ सुब्बाले भन्नुभयो ।
गरिबीले बिथोलेपछि अरेबियन खाडी मुलुक दुबई मलेसिया पैसा कमाउन हानिुनभएका उहाँ अहिले देशका प्रख्यात सुन्तला उत्पादन हुने क्षेत्रमा रमाउनुभएको छ । ‘‘नेपालीहरु अहिले पनि भारतको हिमाञ्चलतिर स्याउ टिप्न पुग्छन्, त्यहाँको स्याउ होइन देशकै गाउँघरमा फलेका सुन्तला टिपेर पनि जीविकोपार्जन चलाउन सकिने रहेछ’’ तामाङले भन्नुभयो, ‘‘सन्नतिसँग बस्यो, श्रम अनुसार आम्दानी भएपछि विदेशमा कि भौतारिनुपर्यो ।’’
बोटमा चढेर सुन्तला टिप्दा पनि दैनिक खाना बस्नसहित एक हजार ज्याला पाउँदा तामाङ मख्ख हुनुहुन्छ । “मलेसिया तीन र दुबईमा दुई वर्ष पसिना बगाइयो । अब गाउँघरमै मेहेनत गरेर परिवारसँग रमाउने हो’’ तामाङले भन्नुभयो, ‘‘नेपालमा जस्तो आनन्द विदेशमा छैन ।” छरछिमेकले विदेश तारन्तार सुझाव दिँदा मन कटक्क खाने तामाङ बताउनुहुन्छ । सुन्तला टिपेर महिनामै ३० देखि ३५ हजार रुपियाँ कमाई भएपछि किन विदेश जानुपर्यो ।
तामाङसँगै सुन्तला बगैचामा भेटिनुभएका ३० वर्षीय आदाम तामाङले दुबई–मलेसिया पुगेर दुख गरेपनि सोचअनुसार कमाई नहुँदा दिक्दारी व्यक्त गर्नुभयो । ‘‘विदेशमा सोचेअनुसार, आम्दानी नभएपछि घर फर्किए । अहिले देशकै सुन्तला बगानमा रमाएर घर खर्च राम्रोसँग चलाउनुका साथै धेरथोर रकम बचत गर्न सफल भएको छु’’ आदामले भन्नुभयो ।
सन् २००९ ताका घर बनाउने कलामा पोख्त दाङ तुलसीपुरका खिमलाल चौधरी मलेसिया पुग्नुभयो । महिनाको १७ हजार जसोतसो कमाई भए पनि उहाँको चित्त बुझेन । काम अनुसारको दाम, सवारी साधन दुर्घटनाको भयावह अवस्था र भाषा बुझ्नै समय लागेपछि नेपाल फर्किनुभयो । सन् २०१२ मा दुबई हानिए पनि श्रीमती बिरामी भएपछि एक महिनामै नेपाल फर्किनुभएका चौधरी अहिले बागलुङमा सुन्तला टिप्ने काममा भविष्य देख्नुहुन्छ ।
“हातमा सिप छ अनि नेपालमा काम, घरको खेतीपाती सकाएर मौसमी काममा हिँड्छु” उहाँले भन्नुभयो, ‘‘सुन्तलाको मौसममा टिप्दै हिँडेको तीन महिना भयो, अरु बेला घर बनाउने काममा हिँड्छु । जति कमाई भएपनि परिवारसँगै हुँदा खुशी छु ।”
म्याग्दीका सुन्तला पोखरा, नारायणगढमा पु¥याएर अहिले बेनीका फलफुल व्यवसायी सुवास थापा बागलुङ काठेखोलाको किम्बोटका सुन्तला बजार लैजाँदै हुनुहुन्छ । यो मौसममा बागलुङ र म्याग्दीका सुन्तला किसानसँग दुई करोडको कारोबार गरेका थापाले बताउनुभयो । ‘‘किम्बोटमा मात्रै २६ लाखको सुन्तला खरिद गरेका छौं’’ उहाँले भन्नुभयो, ‘‘किम्बोटको सुन्तला रसिलो र स्वादिलो छ, गाँउको उत्पादन शहरलाई चखाउन पाइएको छ ।’’

