सोमबारदेखि राष्ट्रिय हक्की महोत्सव : दशरथ रंगशालामा उपाधिका लागि भिडन्त

काठमाडौं । नेपाल हक्की संघ को आयोजनामा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने भएको छ। दशरथ रंगशाला, त्रिपुरेश्वरमा सोमबारदेखि प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघकी महासचिव सुवर्ण श्रेष्ठ ले पुरुषतर्फ ६ टिम सहभागी हुने जानकारी दिइन्। प्रतिस्पर्धामा मधेश, गण्डकी, कोशी, सुदूरपश्चिम, बागमती प्रदेशसँगै नेपाल पुलिस क्लब मैदानमा उत्रनेछन्। टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीअनुसार खेल सञ्चालन गरिनेछ।

नेपाली हक्की इतिहासमै पहिलोपटक संघको प्रत्यक्ष आयोजनामा हुने यस प्रतियोगिताको महिलातर्फ भने ५ प्रदेशीय टोली सहभागी हुनेछन्। राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ।

संघका अध्यक्ष अनिलप्रसाद शर्माका अनुसार दुवै विधामा विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई ५ हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टोली छनोट गरी प्रशिक्षणको व्यवस्था गरिने महासचिव श्रेष्ठले बताइन्। हक्कीको दीर्घकालीन विकासका लागि विद्यालय तहदेखि खेल विस्तार अभियान पनि अघि बढाइएको उनले जानकारी दिइन्।

फागुन ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version