काठमाडौं २३ आश्विन। इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार इजिप्टमा सोमबार भएको अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल एकाउन्टमा एउटा पोस्ट लेख्दै इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता भएको जानकारी दिएका छन् । जसलाई उनले विशेष दिनसमेत भनेका छन् । ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले टेलिफोनमा एक अर्कालाई बधाइसमेत दिएका छन् ।
गाजामा २ वर्षदेखि जारी युद्ध अन्त्यका लागि ट्रम्पले २० बुँदे प्रस्ताव राखेर युद्धविरामको पहल गरेका थिए । अमेरिकासहित कतार, इजिप्ट र टर्कीले युद्धविरामका लागि मध्यस्थता गरेका थिए ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमासले शनिबारदेखि बन्धकहरूलाई छाड्ने बताएको छ । निश्चित भने छैन । तर, सम्भौताअनुसार ७२ घन्टाभित्र सबै बन्धकहरु हमासले छाड्नुपर्नेछ ।
अक्टोबर ७, २०२३ मा बन्धक बनाएर गजा पु¥याइएका २५१ जनामध्ये अझै ४८ जना बन्धकहरू हमासकै नियन्त्रणमा रहेको बताइएको छ । तीमध्ये २० जना जिवित रहेको अनुमान छ ।
इजरायलले युद्धविराम सम्झौता भएको विषय मन्त्रिपरिषदमा लैजाने भएको छ । त्यहाँबाट पारित भएपछि सहमतिअनुसार प्यालेस्टिनी बन्दीहरू रिहा गर्ने रोयटर्सले उल्लेख गरेको छ ।