काठमाडौँ माघ २४। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा बजेटभन्दा दोब्बर बढी दायित्व सिर्जना भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले स्रोत सुनिश्चित नगरी खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको भन्दै वित्तीय अनुशासन कायम गर्न कडा निर्देशन दिएकी छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमामा विनियोजित १० अर्ब रुपैयाँमध्ये अधिकांश खर्च भइसकेको जानकारी दिइन्। तर स्रोतको सुनिश्चितता नगरी कार्यक्रम विस्तार गरिँदा हाल वार्षिक करिब २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको उनको भनाइ छ।
मन्त्री गौतमले नागरिकले दुःख गरेर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने भन्दै बजेटको सीमाभित्र रहेर खर्च गर्नुपर्नेमा जोड दिइन्। “सरकारले रुखबाट पैसा टिपेर ल्याउने होइन,” उनले भनिन्, “स्रोत नहुँदा जति मन लाग्यो त्यति सेवा दिने प्रवृत्तिले प्रणाली नै संकटमा पारेको छ।”
संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गरे पनि यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी स्थानीय सरकारको भएको मन्त्री गौतमले स्पष्ट पारिन्। उनले स्थानीय तहलाई स्वास्थ्य सेवालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरिन्।
स्वास्थ्य क्षेत्रको दिगो व्यवस्थापनका लागि वित्तीय अनुशासन, स्रोतको सुनिश्चितता र जिम्मेवारीपूर्ण खर्च अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमा बोर्डलाई बजेटको परिधिभित्र रहेर काम गर्न निर्देशन दिइन्।



