काठमाडौँ माघ २५। नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग प्रतिस्पर्धा गर्दै आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको यात्रा सुरु गर्दैछ। मुम्बइस्थित वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाल र इङल्यान्डबीच बहुप्रतीक्षित खेल हुन लागेको हो।
समग्रमा नेपालले तेस्रो पटक तथा लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो। यसपटकको टोलीमा अघिल्लो संस्करण खेलिसकेका १० खेलाडीसँगै नयाँ अनुहारहरू पनि समावेश छन्। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्यु गर्ने तयारीमा छन्।
सोमपाल कामी नेपालका लागि सबै तीनवटै टी–२० विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने दौडमा छन्। कप्तान रोहित पौडेलसँगै कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्।
विश्वकपअघि नेपालले युएई र क्यानडासँग खेलेका दुवै आधिकारिक वार्म–अप खेल जित्दै आत्मविश्वास बढाएको थियो।
सन् २०१० र २०२२ मा विश्वकपको उपाधि उचालिसकेको बलियो टोली इङल्यान्ड नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ।
यता, सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा आएर खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले वरियताका आधारमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराएको छ।
विश्वकप अन्तर्गत आइतबार तीन खेल हुनेछन्। पहिलो खेलमा चेन्नइमा समूह ‘डी’ का अफगानिस्तान र न्युजिल्यान्ड भिड्नेछन् भने श्रीलंकाको कोलोम्बोमा घरेलु टोली श्रीलंका र आयरल्यान्ड आमनेसामने हुनेछन्।



