काठमाडौँ माघ २६ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले विधानअनुसार केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिका सदस्यमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा महामन्त्री गुरुराज घिमिरेले निर्धारित प्रस्तावहरू पेस गरेका थिए। बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२’ लाई परिमार्जनसहित पारित गरेको छ।
बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला सङ्ग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी तथा प्रवक्ता देवराज चालिसेले आ–आफ्ना धारणा राखेका थिए।



