काठमाण्डौ फाल्गुन १— कर्णाली प्रदेशको दैलेख जिल्लास्थित भैरवी गाउँपालिका–१ जलजलेमा विशाल परिमाणमा खनिज ग्यास भण्डारण रहेको पुष्टि भएको छ। चाइना जियोलोजिकल सर्वेले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनमा सो ठाउँमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको बताईएको छ।
खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार विस्तृत अध्ययनपछि प्राप्त तथ्याङ्कले सो स्थानमा पूर्वअनुमानभन्दा धेरै ठूलो भण्डार रहेको पुष्टि गरेको छ। प्रारम्भिक प्रतिवेदनमा जलजले क्षेत्रमा करिब १ अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो। तर थप परीक्षण र अन्तिम अध्ययनले सो अनुमानलाई निकै बढाएर देखाएको उनले जानकारी दिए।
ग्याँस भण्डारण पुष्टि भए पनि यसको व्यावसायिक उत्खनन क्षमता भने अझै स्पष्ट भइसकेको छैन। विभागका अनुसार अब ‘वेल टेस्टिङ’ अर्थात् कुवाको परीक्षणपछि मात्रै कति ग्यास निकाल्न सकिन्छ, कुन प्रविधि उपयुक्त हुन्छ भन्ने टुङ्गो लाग्नेछ।
ड्रिल गरिएका स्थानमा विशेष उपकरण प्रयोग गरी चट्टान फुटाउने वा ग्यास विस्थापन गर्ने प्रक्रिया अपनाइनेछ। त्यसपछि निस्कने ग्यासको रासायनिक परीक्षण प्रयोगशालामा गरिनेछ र मात्र व्यावसायिक उत्पादनको निर्णय लिइनेछ।
नेपाल सरकार र चाइना जियोलोजिकल सर्भेबीच करिब २ अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो। सोहीअनुसार चिनियाँ टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेटोटेल्युरिक र जियोकेमिकल सर्भे सम्पन्न गरेको हो।
हाल प्राप्त अन्तिम प्रतिवेदनमाथि थप अध्ययन भइरहेको छ भने बाँकी कामका लागि नेपाल सरकारले चीनसँग थप अनुदान सहयोगको आग्रह गरेको जनाइएको छ।
विज्ञहरूका अनुसार दैलेखमा फेला परेको ग्यास अमेरिकामा उत्खनन गरिने ‘शेल’ वा ‘टाइट ग्यास’ प्रकृतिको हो। यस्तो ग्यास चट्टानका तहमा च्यापिएर रहने भएकाले निकाल्न जटिल प्रविधि आवश्यक पर्छ। व्यावसायिक रूपमा उत्खनन गर्न चट्टान फोड्ने प्रविधि अपनाउनुपर्ने चुनौती छ।
दैलेखमा परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार मानेर २०७६ असोजदेखि अन्वेषण सुरु गरिएको थियो।
दैलेखमा पुष्टि भएको ग्यास भण्डार स्थानीय विकाससँग जोडिएको मुख्य विषय बनेको छ। आगामी निर्वाचनमा समेत यहाँका राजनीतिक दलहरूले ग्याँस उत्खननलाई प्रमुख चुनावी एजेन्डाका रूपमा उठाएका छन्।
विशाल भण्डार पुष्टि भएसँगै अबको सबैभन्दा महत्वपूर्ण चरण — परीक्षण र उत्खनन सम्भावनाको स्पष्ट निर्णय — तर्फ सबैको ध्यान केन्द्रित भएको छ।



